टोकियो ( जापान ), नेपालबाट जापानमा अध्ययनको लागि जाने गरेका नेपाली बिधार्थीहरुले बिभिन्न समस्या भोग्नुपरेको र तिनै समस्याका कारण आत्महत्या गर्नेहरुको संख्या समेत बढ्दै गएको बुझिएको छ। चालु आर्थिक बर्षको श्रावणदेखि हालसम्म जापानमा ५३ जना नेपालीको मृत्यु भइसकेकोमा त्यसमध्ये करिब ८० प्रतिशत घटना आत्महत्यासँग सम्बन्धित रहेको जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले जानकारी दिएका छन।
उनका अनुसार मृत्यु भएका नेपालीहरुमध्ये श्रम स्वीकृति नभएका नेपालीहरुको शव नेपाल पठाउन समेत कठिनाइ पर्ने गरेको छ । “श्रम स्वीकृति लिएका व्यक्तिको मृत्यु भएमा राज्यको कोषबाट उनीहरुको शव घरसम्म लैजाने व्यवस्था छ, तर विद्यार्थी र डिपेन्डेन्टका हकमा यस्तो सुविधा नहुँदा समस्या हुने गरेको छ,” उनले भने।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रबिन्द्र श्रेष्ठको नेतृत्वमा नेपाली राजदुताबास टोकियोमा पुगेर दुताबासले प्रदान गर्दै आएको सेवा प्रवाह, समस्या एबम आगामी योजनाबारेमा गरिएको अन्तरक्रियाको क्रममा कार्यबाहक राजदुत पौडेलले उक्त जानकारी दिएका हुन। उनले नेपालीहरुले भोग्नुपरेका समस्या समाधान गर्नको लागि मासिक रूपमा फेसबुक लाइभ तथा ह्वाट्स एप मार्फत सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्ने प्रयास भइरहेको समेत स्पष्ट पारे।

जापानमा रहेका नेपाली विद्यार्थीहरूको आत्महत्याको दर बढ्दै गरेकोमा गम्भीर चिन्ता प्रकट गर्दै कार्यबाहक राजदुत पौडेलले दूतावासमा दैनिक ९ सय भन्दा बढी गुनासो र समस्या सहितको टेलिफोन आउने गरेको जानकारी दिए। ती गुनासो तथा जिज्ञासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘आईभीआर प्रणाली’ सञ्चालनमा ल्याइएको छ।
नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरू दिनेश थापा, विनोद ढकाल र पत्रकार जीवन सुवेदीले नेपाली समुदायले जापानमा भोग्नुपरेको विभिन्न समस्याको बारेमा चर्चा गर्दै दूतावासको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सूचना साझेदारीमा सहकार्य गर्ने, सही सूचना समुदायसम्म पुर्याउने तथा दूतावास र नेपाली समुदायबीच पुलको भूमिका निर्वाह गर्ने आँफुहरु सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए।















