काठमाडौँ, जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनमा दमन गरेको अभियोगमा बालेन्द्र शाह नेतृत्वको सरकारले पक्राउ गरि थुनामा राखेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले दुवै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

ओली र लेखकलाई प्रहरीले यहि चैत १४ गते शनिबार बिहानै निवासबाट पक्राउ गरेको थियो । यसअघि पहिलोपटक अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले ओली र लेखकबारे भदौ २३ मा भएको जेनजी आन्दोलनमा दमन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । शुक्रबार म्याद थपको लागि प्रहरीले दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराएको थियो ।
यसैबीच सम्पत्ति सुद्धिकरणको कसुरमा पक्राउ गरिएका दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।
















