पोखरा, माइक समातेका विष्णु बास्तोलाले फ्याट्ट भने, ‘यस्तो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’ हुन पनि नेताहरु आउने, सांसदहरु आउने, मन्त्रीहरु आउने कार्यक्रम त भइरहन्छन् । उनीहरु भाषण गर्छन् जनता सुन्छन् । शनिबार पोखरा १९ पुरन्चौरमा भने त्यस्तो भएन । जनताले जिज्ञासा राखे, मन्त्री र सांसदले जवाफ दिए । त्यसैले विष्णुले भनेका हुन्, ‘यतो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’
आउटलाइन मिडिया काठमाडौंले सार्वजनिक सरोकारका विषयमा छलफल गर्न शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवन, प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा र पियारी थापालाई पुरन्चौर चुरुंगामा जनतासँग आमनेसामने उभ्याएको थियो ।
स्थानीयले लामाचौर—माछापुच्छ«े ग्रामीण सडक पहिरोले भत्काएर बिजोग बनाएको समस्या जोडतोडका साथ उठाए । ‘कुन बेला कुन गाडी खसेर कहाँ पुग्ने हो भनेजस्तो छ,’ लालीगुराँस आमा समूहकी अध्यक्ष तारा पौडेलले भनिन् । उक्त सडक गएको बर्खामा पहिरोले भत्काएको थियो । मर्मतका लागि स्टिमेट गर्दा १ करोड रुपैयाँ लाग्ने देखिएको तर बजेट ५० लाख रुपैयाँभन्दा नभएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले सुनाए । अर्थमन्त्री बरालले सडक मर्मतका लागि बजेट अभाव हुन नदिने बचन दिए ।
‘अहिले ५० लाख रुपैयाँ छ भने त्यसैबाट काम सुरु गर्नाेस्, १ करोड हैन डेढ करोड रुपैयाँ चाहिन्छ भने पनि हालिन्छ, छिटो छरितो सम्पन्न गर्न मेरो पहल रहन्छ,’ मन्त्री बरालले भने । गणेशप्रसाद बास्तोलाले माछापुच्छ«े ग्रामीण सडक उत्तरी भेगका लागि थेग्ने सडक भएको हुँदा त्यो बाटो बनाए अरु विकास विस्तारै हुने विचार राखे ।
प्रदेश सांसद इन्द्रलाल सापकोटाले गण्डकी सरकारले एक निर्वाचन क्षेत्र एक सडक, पालिकालाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक सडकहरु बनाएको सुनाए । ‘जिल्ला सदरमुकाम छाडेर पिचबाटो देख्नै नपाइने अवस्थामा अब त्यो अवस्था रहेन, कतै पिच भइसकेको छ, कतै हुँदैछ,’ सापकोटाले भने ।
प्रदेश सांसद इन्द्रलाल सापकोटाले गण्डकी सरकारले एक निर्वाचन क्षेत्र एक सडक, पालिकालाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक सडकहरु बनाएको सुनाए । ‘जिल्ला सदरमुकाम छाडेर पिचबाटो देख्नै नपाइने अवस्थामा अब त्यो अवस्था रहेन, कतै पिच भइसकेको छ, कतै हुँदैछ,’ सापकोटाले भने ।
प्रदेश सांसद पियारी थापाले महिला सशक्तीकरणका लागि ‘प्राइभेट फर्म दर्तासम्बन्धी’ ऐनमा महिलालाई फर्म दर्ता र नवीकरणमा छुट हुने व्यवस्था गरेको जानकारी दिइन् । बाल अधिकारसम्बन्धी कानुन पनि बन्ने चरणमा रहेको जानकारी उनले दिइन् । संघीयता नेपालको अर्थतन्त्रले नधान्ने विचार पनि उनले व्यक्त गरिन् ।
विन्ध्येश्वरी माविका प्रअ श्रीराम आचार्यले दरबन्दी अपुग रहेको बताए । ‘महिला शिक्षक सुत्केरी विदामा बस्दा वैकल्पिक शिक्षक राख्ने क्षमता पनि विद्यालयसँग हुँदैन,’ उनले भने, ‘यो समस्या हाम्रोमात्रै होइन, देशैभरि छ ।’ छात्र सागर बास्तोलाले पुस्तकालयको अभाव रहेको सांसदहरुलाई सुनाए । नारायण अधिकारीले बाउसाले खनेका बाटो भत्किएर गाडी चल्न छाडेको सुनाए । युवा वसन्तराज बास्तोलाले युवालाई उद्यमी बनाउन गण्डकी सरकारले के कस्तो नीति ल्याएको छ भन्ने जिज्ञासा राखे ।
सरस्वती बास्तोलाले स्वास्थ्य चौकी जाँदा सिटामोल पनि नहुँदा आफूहरुलाई महानगरको बासिन्दा होइनौं कि भन्ने लागेको अनुभूति साटिन् । मित्रलाल बास्तोला, विष्णु बास्तोला, जगन्नाथ बास्तोला, हर्कराज आचार्य, भगवान बास्तोला, गोमा बास्तोला, शालिग्राम बास्तोला, विजय गौतम, केशवराज बास्तोला लगायतले गाउँघरका समस्या सांसदहरुलाई सुनाएका थिए ।
आउटलाइन मिडियाका सरोज दाहालले पत्रकारले जनताका प्रश्न र समस्याबारे रिर्पोटिङ गर्न सकिने हुँदा हुँदै जनतासँग सामन्ने राखेर सांसदसँग छलफल गर्दा अझ प्रभावकारी हुने भएकाले कार्यक्रम आयोजना गरेको जानकारी गराए । उक्त मिडियाले उत्पादन गर्ने जनतासँग सांसद कार्यक्रम देशभरका ७७ एफएम रेडियोबाट शुक्रबार बिहान साढे ७ बजे प्रसारण हुने जानकारी कार्यक्रम प्रस्तोता बोमलाल गिरीले बताए ।
२० मंसिर २०७८, सोमबार ११:२८ मा प्रकाशित