काठमाडौँ, नेकपा एमालेको भक्तपुरमा जारी महाधिबेशन अन्तर्गत नयाँ नेतृत्व चुन्नको लागि आज मंगलवार बेलुका हुने भनिएको मतदान प्रक्रिया भोलि बुधवार बिहान सम्मको लागि सारिएको छ । मंगलबार साँझ भोट हाल्न भन्दै लाइनमा बसिसकेका महाधिबेशन प्रतिनिधिहरुलाई रातिको समयमा जाडो हुने भन्दै एमालेले मतदानस्थलबाट फर्काएको बताइएको छ । जसका कारण लाइनमा बसिसकेका मतदाताहरु समेत आआफ्नो निवास तर्फ फिर्ता भैरहेका छन।
प्राविधिक समस्या देखाउँदै आज हुने भनिएको मतदान प्रक्रिया स्थगित गरेर भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी दिईएको भएपनि चिसो बढेको कारण मतदान प्रक्रिया स्थगित गरिएको हो वा अन्य कुनै कारणले भन्ने बिषयमा स्पष्ट जानकारी आएको छैन ।
मतदान स्थलमा एमालेका अध्यक्षका उमेदवार द्वय केपी ओली र इश्वर पोखरेलले सहित अबलोकन गरेका थिए सोहि क्रममा जानकारी दिंदै पोखरेलले भने ‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन, चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कूल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । एमाले महाधिबेशनमा केपी ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै समूह / प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन ।














