पोखरा, करिब ५ दशक अगाडी अर्थात विसं २०३३ मा स्थापित पोखराको पहिलो लायन्स क्लब एबम नेपालको छैटौं लायन्स क्लब ‘लायन्स क्लब अफ पोखरा’ ले आफ्नो स्थापनाको ५० वर्ष पुगेको अवसर पारेर स्वर्ण महोत्सव मनाउने भएको छ । सन् १९७६ तिर मुम्बईबाट भ्रमणका क्रममा पोखरा आइपुगेका नवराज पटेल र उनको टोलीसँगको भेटपछि पोखरामा लायन्स क्लब स्थापन गर्ने गृहकार्य सुरु भएको थियो । त्यसपछि पृथ्वीनारायण क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई प्रस्तावित संस्थापक अध्यक्षका रूपमा अगाडि सारिएको थियो । तर उनको कार्यव्यस्तताका कारण तत्कालिन समयमा पोखराका प्रतिष्ठित व्यापारी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबको विधिवत स्थापन गरिएको थियो ।
क्लबका संस्थापक सदस्यहरूमा बुद्धिबहादुर भट्टचन, सुशीलकुमार गोशाली, कृष्णप्रसाद गुप्ता, कृष्णबहादुर गुरुङ, जर्ज जोन, राधेश्याम कमारो, बीबी कार्की, डा. सीपी मास्के, रामकृष्ण मजुमदार, गणेशकुमार प्रधान, हेमबहादुर प्रधान, सुरेन्द्रबहादुर प्रधान, कमलबहादुर प्रजू, भगवान श्रेष्ठ, द्वारिकाप्रसाद श्रेष्ठ, मेहरमान श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, सिद्धबहादुर श्रेष्ठ, हेलबहादुर शिल्पकार, पृथ्वीबहादुर सिंह, श्याममोहन सिंह, वीरेन्द्रकुमार थकाली, विमलबहादुर थापा, पन्नामान तुलाधर, राघवलाल वैद्य र अमृतप्रसाद शेरचन रहेको बताइएको छ । स्थापनाकालदेखि हालसम्म यस क्लबमा ४४ जनाले नेतृत्व सम्हालिसकेका छन् भने हाल क्लबमा ४२ जना सक्रिय सदस्यहरू कायम छन् ।
यसैबीच क्लबको स्वर्ण महोत्सब मनाउने सम्बन्धमा क्लबले मंगलवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्लबका संस्थापक कोषाध्यक्ष एवं स्वर्ण महोत्सब मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले स्थापनाकालको समय सम्झँदा आज पनि धेरैका मनमा बिगतका कठिन दिनका कथाहरू ताजा हुने बताए । गोशलीले समाजमा व्याप्त विभिन्न भ्रम, आर्थिक अभाव र प्रशासनिक उल्झनका बाबजुद अग्रजहरूले आफ्नै व्यक्तिगत खर्च गरेर, ड्युज तिरेर र समाजसेवालाई अगाडि बढाएर संस्थालाई बचाएको स्मरण गरे ।
पोखरामा लायन्स क्लब स्थापना हुनु अगाडी नेपालमा काठमाडौं र विराटनगरमा लायन्स क्लबहरुको जन्म भैसकेको क्लबका संस्थापक सदस्य मेहरमान श्रेष्ठले जानकारी दिए । विगत ५० वर्षको यस लामो यात्रामा पोखरा लायन्स क्लबले कास्की, तनहुँ र पर्वत लगायतका दुर्गम ग्रामीण क्षेत्रहरूमा विद्यालय भवन निर्माण, खानेपानी आयोजना, निःशुल्क आँखा शिविर तथा दूरगामी स्वास्थ्य सेवालगायतका अर्बौं रुपैयाँ बराबरका विकास तथा मानवीय सेवा आयोजनाहरू सम्पन्न गरिसकेको छ । पोखरा लायन्सकै सक्रियता र प्रेरणाका कारण पछि गएर नारायणगढ, गण्डकी, अन्नपूर्ण, लेकसिटी, फिस्टेल जस्ता दर्जनौँ नयाँ क्लबहरू जन्मिई पोखरालाई ‘लायन्स नगरी’ का रूपमा स्थापित गराउन ठूलो सहयोग पुगेको छ ।
पोखरा लायन्स क्लबको एतिहासिक यात्रालाई स्मरण गर्दै उत्सवका रूपमा मनाउन आगामी मंसिर ५ गते पोखरामा ‘स्वर्ण महोत्सव समारोह’ आयोजना गर्न लागिएको छ । उक्त समारोहलाई ५० वर्षको अवधिमा गण्डकी क्षेत्रमा लायन्स अभियानमार्फत भएका सामाजिक रूपान्तरण र ऐतिहासिक योगदानको समीक्षा गर्ने विशेष थलो रहेको क्लबका बर्तमान अध्यक्ष डा. माधव तिवारीको भनाइ छ ।
समारोहमा क्लबका संस्थापकहरू, पूर्वअध्यक्षहरू तथा लायनवादका माध्यमबाट समाजमा विशिष्ट योगदान पु¥याउने वरिष्ठ अग्रजहरूलाई विशेष सम्मान गरिने छ । साथै, विगत ५० बर्षको अबधिमा गरिएका सामाजिक गतिविधिको ऐतिहासिक अभिलेख समेटेर तयार पारिएको विशेष ‘स्वर्ण महोत्सव स्मारिका’ को पनि विमोचन गरिनेछ । कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रबाट संस्थापकहरू, पूर्वअध्यक्षहरू, लायन्स नेतृत्व, विभिन्न पेसा–व्यवसायका अगुवाहरूसहित करिब १ हजार बढीको उपस्थितिरहने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष डा. माधव तिवारीले ५० वर्षसम्म संस्थालाई जीवित राख्नु र समाजसेवामा समर्पित हुनु आफैँमा एउटा ठूलो यज्ञ सरह भएको बताएका छन् । त्यस्तै, कार्यक्रमका प्रमुख संयोजक तथा पूर्वअध्यक्ष सुशीलकुमार गोशलीले स्थापनाकालदेखिका संघर्ष र उपलब्धिबारे प्रकाश पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । मल्टिपल काउन्सिलका निवर्तमान चेयरपर्सन मिलन थापा, डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोला, क्लबका पूर्व अध्यक्ष दीपेन्द्र कोइरालाले पोखरा लायन्सले समाजमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै अन्य लायन्सले पनि सेवाको भावनालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।













