पोखरा, नेपाल लाइफ इन्स्योरेन्सले पोखराको विरौटा र तनहुँको दुलेगौंडामा उपशाखा बिस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल वीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले पोखराको छोरेपाटन उपशाखा र प्रमुख कार्यकारी अधिकृत पराजुलीले दुलेगौंडा उपशाखाको बिहिबार उद्घाटन गरेका थिए । उक्त बिमा कम्पनीको प्रादेशिक कार्यालय पोखराको न्युरोडमा रहेको छ ।
कम्पनीको सेवा विस्तार गर्ने उदेश्य सहित दुईवटा उपशाखा संचालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली बताए । जनस्तरमा कम्पनीलाई विस्तार गर्ने नीति अन्तरगत उपशाखा विस्तार गरिएको पराजुलीले स्पष्ट पारे ।
गण्डकी प्रदेशमा आंफ्नो बिमा कम्पनीको उपस्थिति बलियो बनाउंदै अहिले भइरहेको बजार भन्दा पनि नयाँ बजारको खोजी गर्न उनले मातहतका कर्मचारी एबम प्रतिनिधिलाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै नेपाल वीमा प्राधिकरणका गण्डकी प्रमुख शम्भुप्रसाद मिश्रले वीमितलाई सेवा सुविधा दिन आग्रह गरे । प्राधिकरणमा अभिकर्ताको विषयमा प्रश्न उठ्ने गरेको कुराको चर्चा गर्दै उनले विमा अभिकर्ता छनोट गर्दा बिमा कम्पनीहरुले बिशेष ध्यान दिनुपर्ने भन्ने सुझाव दिए ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेलले ग्राहक बनाएपछिको सेवालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय गण्डकीका प्रमुख शहदेव अधिकारीले बिमा बजारको सम्भावनालाई अध्ययन गरेर विरौटामा उपशाखा संचालनमा ल्याइएको बताए । उनले उपशाखा विस्तारसगै कम्पनीको बजार क्षेत्र पनि विस्तार हुने र अझ धेरै नागरिकलाई वीमामा जोड्न सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका आर्थिक विभाग प्रमुख प्रेमप्रसाद रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता संघका केन्द्रीय सदस्य दामोदर सापकोटाले कम्पनीको शाखा उपशाखा बिस्तार हुँदै जानु सकारात्मक भएको बताए ।















