- नरेन्द्रराज प्रसाईं
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालमा जन्मनु अभिशाप जस्तै थियो । नेपालमा उनलाई बुझ्ने मान्छे त्यति थिएनन् । नेपालमै जन्मेका कारण उनलाई मानसिक तनाव भएको थियो । मानसिक आघातको सिकार भएकाले उनलाई राँची समेत लगिएको थियो । उपचारका क्रममा डा.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।
देवकोटा कति ठूला कवि थिए भने अति ठूला कवि थिए । उनी कविहरुका पनि कवि अर्थात् महाकवि थिए । भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौँ, डिल्लीबजारको झिँगटी घरमा भएको थियो । उनी जन्मेको ठाउँलाई धोबीधाराको कुमारीथान भनिन्थ्यो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । उनी आफ्ना बुबाआमाका परम भक्त थिए भने दाजुहरु र दिदीहरुका हदै आज्ञाकारी थिए ।
देवकोटा जन्मेदेखि नै रोगी थिए । उनी जन्मेपछि उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहन्थ्यो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो।
देवकोटा दरबार स्कुल पढ्दा प्राय: दौरा सुरुवाल र टोपी लगाएर जान्थे । उनको हाउभाउ, मिजास र स्वभाव देखेर उनका साथीहरुले उनलाई गिल्ला गर्थे । तर उनी निर्भीकताका हर्कुलस थिए । उनी आफ्नो रुचि पनि साथीभाइमाझ प्रस्तुत गरिरहन्थे । तर पनि साथीहरुले उनको खिल्ली उडाउन छाड्दैन थिए । स्कुल पढ्दैदेखि उनी आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा समेत पनि लिएका थिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिएका थिए ।
देवकोटाले आफ्ना बुबाका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । अनि उनले कविशिरोमणि लेखनाथ पौड्यालका कविता पनि सानैमा पानी पारेका थिए । देवकोटाले दस वर्ष नपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए । उनी छिप्पिँदै गएपछि वर्डस्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि उनको कविता लेखनले पौडन थालेको थियो ।
देवकोटा टुप्पीमा डोरी कसेर पढ्थे । अथवा भनौँ उनी पढ्न थालेपछि कितापमा नै वास बस्थे । उनको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढेका थिए । विविध प्रपञ्चका कारण जोडिनाले उनले १७ वर्षको हुँदा मात्र म्याट्रिकुलेसनको परीक्षा दिएका थिए । त्यस बेला नेपालमा दस कक्षापछिको परीक्षाको व्यवस्था थिएन । त्यसैले उनले भारतको पटनाबाट नै परीक्षा दिएका थिए।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । उनी केटीप्रेमीका रूपमा पनि देखा परेका थिए । उनी केही सुन्दरीसित लहसिएका थिए । उनी केटीसित प्रेम गर्दा भटाभट कविता लेखिदिन्थे । उनले केहीसँग मानसिक प्रेम गरे र केहीसित शारीरिक प्रेमसमेत गर्न भ्याए । पछिपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले ।
लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो । देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटा कविताका सहोदरी थिए । उनलाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए । उनी तास, जुवा र पासा खेल्नेदेखि रक्सी खान पनि पछि पर्दैन थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन्। त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
गरिबीका कारण देवकोटा भोकभोकै सुत्थे । जहान, परिवार पाल्नका लागि उनले दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । कोसी टप्पुमा उनको खेत हुँदा पनि उनले गरिबीमा नै नाउँ चलाएका थिए । १९९० सालमा नै जुद्धशमशेरले उनलाई एक हजार रुपियाँ नगद र ८० बिघा जग्गा दिएका थिए ।
देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित थिएन् भने र देवकोटा चाहीं अति अव्यवहारिक थिए । जोईपोइकै कारणबाट नै देवकोटाको घर सारै दयनीय थियो । वास्तवमा नै मनदेवीलाई घरको मोह थिएन । उनी कविप्रसाद गौतमको हरिकीर्तनमा डुबेकी थिइन् । त्यसैले देवकोटाले कमाएको नगद पनि क्रमश: त्यतै जान थालेको थयो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो । लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षसम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाएका थिए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किएका थिए ।
यतिहुँदा हुँदै पनि वनारसले चाहिँ देवकोटालाई महाकवि बनाएको थियो । उनी कसरी महाकविमा दरिए भने- २००४ सालमा वनारसबाट प्रकाशित हुने काशीबहादुर श्रेष्ठको ‘उदय’मा ईश्वर बरालले देवकोटालाई ‘महाकवि’ लेखेपछि नै उनलाई महाकवि भन्न र लेख्न थालिएको हो । त्यसभन्दाअघि उनलई युगकवि भनिन्थ्यो ।
यतिहुँदा हुँदै पनि वनारसले नै देवकोटालाई महाकवि बनाएको थियो । उनी कसरी महाकविमा दरिए भने- २००४ सालमा वनारसबाट प्रकाशित हुने काशीबहादुर श्रेष्ठको ‘उदय’मा ईश्वर बरालले ‘महाकवि’को उपाधि लेखेपछि उनलाई महाकवि भन्न र लेख्न थालिएको थियो । त्यसभन्दाअघि उनलाई युगकवि भनिन्थ्यो ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए । उनी त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीसम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक समेत रोक्का गरिएको थियो । पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए । तर राजाले त्यो एक महिनाको तलब बराबरको रकम पनि देवकोटालाई दरबारमा एक्लै बोलाएर दिएका थिए ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु रु उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो । महाकवि देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भएका थिए ।
( प्रसाईं त्रिमुर्ती निकेतनका सदस्य सचिब हुन )















