पोखरा, नेपाल फोटो पत्रकार संघ, कास्कीले ९९ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ । फोटो पत्रकारिता दिवसका अवसरमा पोखरा ३ नदिपुरस्थित कोर्टयार्ड (मिनमार्ट) प्रांगणमा बैशाख १३ गते आइतबार ‘फोटोमा ६२, ७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्न लागिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए ।
नेपालमा पछिल्लो ३ दशक यता हरेक १०/१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गर्न लागिएको उनले बताए । ‘२०६२/०६३ मा जनआन्दोलन भयो । त्यसको १० वर्षपछि २०७२ मा भूकम्प गयो, सोही वर्ष नेपालले नयाँ संविधान पनि पायो,’ उनले भने, ‘त्यसको ठिक १० वर्षपछि गत भदौमा जेननी आन्दोलन भयो । सोही समयमा कास्कीमा कार्यरत फोटो पत्रकारले आफ्ना क्यामेरामा कैद गरेका फोटोलाई एकै कार्यक्रममा प्रदर्शन गर्न लागिएको हो ।’
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३ को कार्यालयले सहकार्य गरेको कार्यक्रम संयोजक एबम संस्थाकी सहसचिव दुर्गा रानामगरले जानकारी दिइन् । ‘हामी फोटो पत्रकारहरुका लागि वैशाख १३ अर्थात फोटो पत्रकारिता दिवस अति नै महत्वपूर्ण छ । हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएका छौं,’ उनले भनीन्, ‘यो वर्ष पनि दिवसलाई ऐतिहासिक बनाउनका लागि ‘फोटोमा ६२, ७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्ने तयारी गरिरहेका छौं ।’
उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फोटो प्रदर्शन गरिने संयोजक रानामगरले जानकारी दिइन् । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरुले कैद गरेका ६० वटा फोटो राखिनेछ । प्रदर्शनीले नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिन सकिने संस्थाले बताएको छ । साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेजको रुपमा लिएको छ ।
वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथम पटक फोटो समाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिन बैशाख १३ लाई नेपालका फोटो पत्रकारहरुले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।














