काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकलाई सुशिला कार्की नेतृत्वको सरकारले विदेश जान रोक लगाएको छ ।
उनीहरु अनुसन्धानको दायरामा रहेको कारण उनीहरुको विदेश भ्रमणमा रोक लगाउने र छानबिनको लागि कुनैपनि समयमा जाँचबुझ आयोगमा उपस्थित हुनुपर्ने भएकोले काठमाडौँ उपत्यका छोड्नुपरेमा अनुमति लिन निर्देश गरिएको छ।
कार्की नेतृत्वको सरकारले गत भदौ २३ र २४ को जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएको दमन र प्रदर्शनकारीहरुमाथि गोलि चलाएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा ओली र लेखक सहित पांच जनालाई विदेश यात्रामा रोक लगाएको हो।
आयोगका सदस्य विज्ञानराज शर्माले उपलब्ध गराएको जानकारी अनुसार तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री लेखक सहित तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो ।
उनीहरुले काठमाडौँ उपत्यका छोड्नुपर्दा समेत सरकारको अनुमति लिनुपर्ने निर्णय गरिएको छ ।
















