Play

सुर्यदर्शन सहकारी ठगि प्रकरण: डेढ करोड बढी अपचलन गरेका बमजन दश लाख धरौटीमा रिहा

गुरुकुल खबर


पोखरा, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दायर भएपनि फरार रहेका उक्त सहकारीका पुर्ब अध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सहकारी ठगि प्रकरणका फरार प्रतिवादी बमजनले आइतबार जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेकोमा न्यायाधीश शंकरकुमार राईको एकल इजलासले थुनछेक बहसपछि दश लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारीका पुर्ब अध्यक्ष बमजन सहकारी ठगि प्रकरणका मुख्य योजनाकार मानिएका गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन् । २०६५ सालको सुरुवाततिर देशभर सहकारीको सञ्जाल बिस्तार गर्ने क्रममा सोहि समूहका ज्ञानबहादुर बम्जन पोखरा पुगेको र उनैमार्फत पोखरामा सूर्यदर्शन सहकारीको दतर्थ समिति बनेको हो ।

दोस्रो विश्वयुद्धसमेत लडेका दर्जबहादुर तामाङका छोरा डीबी बम्जन र उनकै भाइ ज्ञानबहादुरसहित उनको परिवारले सहकारीको जालो बिस्तार गर्दै लाने क्रममा पोखरामाथि उनीहरूले नजर लगाइरहेका थिए । सहकारीलाई अगाडि बढाउने माध्यम उनीहरुले पूर्व गोर्खा सैनिकहरुलाई बनाइरहेका थिए । उनीहरूमार्फत नै मानिसहरु जम्मा गरेर सुरुमा सहकारी खोलेका थिए । तर, सहकारी ठगी प्रकरणमा भने उनले अदालतमा इन्कारी बयान दिएका छन् ।

२०६५  भदौ २७ गते उक्त सहकारीको पहिलो साधारण सभाले ज्ञानबहादुर बम्जनको अध्यक्षतामा समिति गठन गरेपछि उक्त सहकारी कानूनी रुपमा दर्ता भएको थियो । त्यसपछि २०६७ पुस ६ गतेको तेस्रो साधारणसभाबाट अध्यक्षमा जीवी राई निर्वाचित भएका हुन् । सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुल मुद्दा दायर भएको थियो ।

यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । करिब १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको सूर्यदर्शन ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये मुख्य अभियुक्त मानिएका जीबी राई, कुमार रम्तेल लगायत अझै फरार छन् ।

सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर बम्जनले २६ लाख ७० हजार ८७१ रुपैयाँ सहकारीको ठगी गरेको अभियोग थियो । तर, उनी अध्यक्ष हुँदा सहकारीबाट संयुक्त रुपमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको र सहकारी सञ्चालनमा संलग्न नभएको दाबी गरेका छन् ।

यसअघि पक्राउ परेकाहरु मध्ये सहकारीका पूर्वकोषाध्यक्ष भूपेन्द्र राई, व्यवस्थापक नेत्रप्रसाद पौडेल र पूर्वउपाध्यक्ष शिवराज कुमार हाल पुर्पक्षका लागि कारागारमा छन् । पक्राउ परेकामध्ये कैलाशकुमार दर्लामी र हेमन्त अधिकारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका थिए । बमजनको रिहासँगै धरौटीमा छुट्नेको संख्या तीन पुगेको छ ।

फरार प्रतिवादी अदालतमा उपस्थित हुँदा जाहेरवालालाई जानकारी नदिएको भन्दै पीडितहरूले भने असन्तुष्टि जनाएका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, “जाहेरवाला हामी हौं, तर हामीलाई थाहै नदिई बयान लिइयो, यसमा हाम्रो असन्तुष्टि छ।”अदालतमा पीडितको पक्षबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेल तथा बमजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।

८ भाद्र २०८२, आईतवार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा