पोखरा, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दायर भएपनि फरार रहेका उक्त सहकारीका पुर्ब अध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सहकारी ठगि प्रकरणका फरार प्रतिवादी बमजनले आइतबार जिल्ला अदालत कास्कीमा आत्मसमर्पण गरेकोमा न्यायाधीश शंकरकुमार राईको एकल इजलासले थुनछेक बहसपछि दश लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको हो ।
सहकारीका पुर्ब अध्यक्ष बमजन सहकारी ठगि प्रकरणका मुख्य योजनाकार मानिएका गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन् । २०६५ सालको सुरुवाततिर देशभर सहकारीको सञ्जाल बिस्तार गर्ने क्रममा सोहि समूहका ज्ञानबहादुर बम्जन पोखरा पुगेको र उनैमार्फत पोखरामा सूर्यदर्शन सहकारीको दतर्थ समिति बनेको हो ।
दोस्रो विश्वयुद्धसमेत लडेका दर्जबहादुर तामाङका छोरा डीबी बम्जन र उनकै भाइ ज्ञानबहादुरसहित उनको परिवारले सहकारीको जालो बिस्तार गर्दै लाने क्रममा पोखरामाथि उनीहरूले नजर लगाइरहेका थिए । सहकारीलाई अगाडि बढाउने माध्यम उनीहरुले पूर्व गोर्खा सैनिकहरुलाई बनाइरहेका थिए । उनीहरूमार्फत नै मानिसहरु जम्मा गरेर सुरुमा सहकारी खोलेका थिए । तर, सहकारी ठगी प्रकरणमा भने उनले अदालतमा इन्कारी बयान दिएका छन् ।
२०६५ भदौ २७ गते उक्त सहकारीको पहिलो साधारण सभाले ज्ञानबहादुर बम्जनको अध्यक्षतामा समिति गठन गरेपछि उक्त सहकारी कानूनी रुपमा दर्ता भएको थियो । त्यसपछि २०६७ पुस ६ गतेको तेस्रो साधारणसभाबाट अध्यक्षमा जीवी राई निर्वाचित भएका हुन् । सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुल मुद्दा दायर भएको थियो ।
यही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । करिब १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको सूर्यदर्शन ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये मुख्य अभियुक्त मानिएका जीबी राई, कुमार रम्तेल लगायत अझै फरार छन् ।
सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर बम्जनले २६ लाख ७० हजार ८७१ रुपैयाँ सहकारीको ठगी गरेको अभियोग थियो । तर, उनी अध्यक्ष हुँदा सहकारीबाट संयुक्त रुपमा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । यद्यपि, उनले अदालतमा बयान दिँदै आफू निर्दोष रहेको र सहकारी सञ्चालनमा संलग्न नभएको दाबी गरेका छन् ।
यसअघि पक्राउ परेकाहरु मध्ये सहकारीका पूर्वकोषाध्यक्ष भूपेन्द्र राई, व्यवस्थापक नेत्रप्रसाद पौडेल र पूर्वउपाध्यक्ष शिवराज कुमार हाल पुर्पक्षका लागि कारागारमा छन् । पक्राउ परेकामध्ये कैलाशकुमार दर्लामी र हेमन्त अधिकारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका थिए । बमजनको रिहासँगै धरौटीमा छुट्नेको संख्या तीन पुगेको छ ।
फरार प्रतिवादी अदालतमा उपस्थित हुँदा जाहेरवालालाई जानकारी नदिएको भन्दै पीडितहरूले भने असन्तुष्टि जनाएका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, “जाहेरवाला हामी हौं, तर हामीलाई थाहै नदिई बयान लिइयो, यसमा हाम्रो असन्तुष्टि छ।”अदालतमा पीडितको पक्षबाट अधिवक्ताहरू युवराज पराजुली, बीबी विष्ट र दीपक शर्मा पौडेल तथा बमजनको तर्फबाट द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।

















