Play

मुख्यमन्त्री पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसदहरु असन्तुष्ट

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारको काम र कार्यशैली प्रति सत्तारुढ पार्टीकै सांसदहरुले असन्तुष्टि प्रकट गर्न थालेका छन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले प्रदेशका नागरिकको अपेक्षा अनुरुप काम गर्न नसकेपछि सत्तारुढ पार्टीकै सांसदहरु समेत सरकारको कार्यशैलीको बिरोधमा देखिएका हुन ।

शुरुवातका दिनमा मुख्यमन्त्री पाण्डे प्रति आम सर्बसाधारणले समेत धेरै अपेक्षा गरेका थिए तर उनको कार्यशैली प्रभावकारी बन्न नसकेपछि उनको नेतृत्वमा रहेको सरकारले गण्डकी प्रदेशमा प्रभावकारी काम गर्ला भनेर अपेक्षा गर्नेहरु समेत निरुत्साहित बन्दै गएको कांग्रेसका नेता कार्यकर्ताहरु समेत बताउछन।

गण्डकी प्रदेशमा नेपाली काँग्रेसबाट निर्बाचित सांसदहरु समेत मुख्यमन्त्री पाण्डेको कार्यशैलीबाट सन्तुष्ट बन्न सकेका छैनन। ‘उनले न त कर्मचारीतन्त्रलाई प्रभावकारी ढंगले चलाउन सकेका छन, न त उनले नियुक्त गरेका विभिन्न निकाय र सचिबालयका कर्मचारीहरुले आफ्नो कर्तब्य र दायित्व अनुसार काम गर्न सकेका छन।’

गण्डकी प्रदेशका एक सांसदले गुरुकुल खबरसंग प्रदेश सरकार प्रति असन्तुष्टि पोख्दै भने, ‘मुख्यमन्त्री पाण्डेसंग धेरै आशा गरेका कांग्रेसका नेता र कार्यकर्ताहरु मात्र नभएर आम सर्बसाधारणले समेत अहिले निराशा प्रकट गर्न थालेको छन।’

नेपाली काँग्रेसबाट निर्बाचित प्रदेश सांसद एबम बाग्लुंग कांग्रेसका सभापति जीत शेरचनले सरकारले अपेक्षाकृत काम नगरेको भन्दै बर्तमान सरकारको पर्फर्मेन्स राम्रो नभएको र नातिजा पनि राम्रो आउन नसकेको बताए। दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेपनि शेरचनले दुबै पार्टीबाट मन्त्री बनेकाहरुको कार्यक्षमता प्रभावकारी देखिन नसकेको भन्दै चिन्ता प्रकट गरे ।

उनले मुख्यमन्त्री सुरेन्द्र पाण्डे र निबर्तमान मुख्यमन्त्री खगराज अधिकारी प्रति समेत प्रश्न गरे । ‘कि त मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीले  सरकारमा पठाएका मन्त्रीहरूलाई हतकडी लगाएर बक्सिङ खेल्न पठाउनुभएको छ । कि त बक्सिङ खेल्नै नसक्ने मान्छेलाई सरकारको मन्त्री बनाएर पठाइएको छ,।’

शेरचनले सरकारको परफर्मेन्स सुधार गर्न नसक्ने हो भने जनस्तरबाट बिरोध र असन्तुष्टि बढ्ने र संघियता माथि नै चुनौती थपिने बताए।  गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसहित ४ जना मन्त्री रहेकोमा शेरचनको प्रश्न आफ्नै पार्टीबाट मन्त्री बनेकाहरूलाई पनि थियो। उनले मन्त्रालयमा कर्मचारी हाबी भएको भन्दै सुधार गर्नको लागि मन्त्रीहरुलाई सुझाब दिए ।

शुक्रवार पोखरामा आयोजित प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको संयुक्त बैठकमा बोल्ने कांग्रेस सांसद शेरचन सहित सबैजसो सांसदले पाण्डे नेतृत्वको प्रदेश सरकारको खुलेर आलोचना गरेका थिए।

एमाले सांसद भीम कार्कीले मन्त्रीहरू जिल्ला जाँदा सांसदसँग संवाद नगरेको भन्दै असन्तुष्टि प्रकट गरे । ‘मन्त्रीहरू जिल्ला जाँदा माननीयहरूसँग समन्वय हुनुपर्‍यो । जाने र फर्किने मात्रै गर्दा समस्या थाहा हुँदैन,’ उनले भने, ‘कम्तीमा त्यही क्षेत्रका सांसदसँग कुराकानी भयो भने सहज हुनसक्छ’  गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका पनि ४ जना मन्त्री रहेका छन् ।

प्रदेश सरकारमा दुई पार्टीको सट्टा साझेदारीको छ महिनापछि बसेको नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलको संयुक्त बैठकमा दुवै पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरू उपस्थित थिए । अधिकांशले सरकारको काममा असन्तुष्टि जनाए ।

नेपाली काँग्रेसका सांसद डिल्लीराम सुवेदीले पनि सरकारको बजेट खर्चमा असन्तुष्टि जनाए । ‘योजना कार्यान्वयन किन कमजोर छ ? यति बलियो शक्ति मिल्दा पनि हामी किन कमजोर भएका छौँ ? फागुन लागिसक्दा बजेट कार्यान्वयन किन कमजोर भयो ?,’ उनको प्रश्न थियो ।

योजना छनोटदेखि बजेट विनियोजनसम्म सांसदसँग सहकार्य नगरिएको उनीहरूको आरोप छ । यसअघि मन्त्री बनिसकेका सांसद महेन्द्र ध्वज जिसीले प्रदेशको मन्त्री हुने भनेको फोटो खिचाउनका लागि मात्रै रहेछ भन्दै व्यंग्य गरे । पहिला मैले खिचाएँ, अहिले अरु साथीले खिचाउदै हुनुहुन्छ र अब फेरि कसैको पालो आउँदैछ,’ उनले भने

बजेट आफ्नो क्षेत्रमा लान खोज्ने तर श्रोतको खोजि कहिले पनि नगर्ने प्रवृतिले मुलुक र आफ्नो क्षेत्रलाई अगाडी बढाउन नसकिने भन्दै सांसद जिसीले श्रोत नखोज्ने तर बजेटमा मात्रै ध्यान दिने प्रवृति सरकारमा बस्नेहरुमा देखिएको भन्दै चिन्ता प्रकट गरे ।

समानुपातिक सांसदहरूले पनि सरकारकै कार्यशैलीका कारण आफूहरू विभेदमा परेको गुनासो गरेका थिए ।  स्यांग्जाकी सांसद कल्पना तिवारीले समानुपातिक सांसदहरूले संसदभित्रै विभेद भोग्नुपरेको बताइन् । ‘प्रत्यक्ष र समानुपातिक सांसदबिच ठुलो विभेद छ । समानुपातिक र प्रत्यक्ष फरक हो भन्ने महसुस हुने गरी नै विभेद गरिएको छ,’ उनले भनिन्, ‘तपाईंहरु (प्रत्यक्ष निर्वाचित) भित्र बस्ने र हामी (समानुपातिक) बाहिर बस्ने सांसद हौँ र ? नत्र यो विभेद किन ?’

सांसद राजकुमारी भुजेलले सरकार र संसदीय दलले समेत समानुपातिकलाई कम प्राथमिकता दिएकोमा गुनासो पोखिन् । ‘हामी समानुपातिक माननीय नै होइनौँ जस्तो व्यवहार सरकार र संसदीय दलबाटै भइरहेको छ,’ उनले भनिन, ‘कि सांसद होइन भन्नुपर्‍यो । सांसद हो भने सांसदको जस्तै व्यवहार गर्नुपरयो ।’

एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले दुई दल बिचको गठबन्धन बलियो भएपनि बजेट विनियोजन र योजना कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको बताए। ‘यो गठबन्धन पहिले नै भएको भए राम्रो हुन्थ्यो, ठुला दलबाट जनताले विश्वास गरेका छन्,’ उनले भने, ‘जनताका अपेक्षा धेरै छन्, बजेट धेरै छैन । अब स्रोतको खोजीमा पनि सरकार लाग्नुपर्छ ।’

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुराना योजनाको दायित्वले नयाँ योजना थप्न समस्या परेको बताए । ‘पुरानै दायित्व धेरै छ । धेरै योजनाहरू अधुरा छन्,’ उनले भने, ‘आगामी बजेट अधुरा योजना सम्पन्न गर्नेतर्फ विनियोजन गर्नुपर्छ । सरकारले त्यसमा ध्यान दिएको छ ।’

१० फाल्गुन २०८१, शनिबार ००:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
अर्जुन ओझा