Play

कांग्रेस महाधिबेशन: केन्द्रीय समितिमा २३१ निर्बाचित, ६६ जना मनोनित हुने, सभापति थापाको शपथ शनिबार

गुरुकुल खबर


काठमाडौं,  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशन अन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो ।संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिहरूले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए ।

सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ । यसपटक विधानमा व्यापक संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको छ । साथै, समावेशिताका आधारमा केन्द्रीय समिति चयन गरिएको छ । कांग्रेसको इतिहासमा पहिलोपटक उपसभापति र महामन्त्री पदमा समेत समावेशिताको अभ्यास गरिएको छ ।
नयाँ विधानअनुसार वरिष्ठ उपसभापति, महिला उपसभापति र समावेशी उपसभापति एक–एक जना तथा खुला उपसभापति दुई जना निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए ।

महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए । संशोधित विधानमा महिलाबाट एक जना महामन्त्री हुने व्यवस्था गरिएअनुसार डा. डिला संग्रौला निर्वाचित भइन् । विधानमा १५ जना सहमहामन्त्री रहने व्यवस्था छ । त्यसमध्ये ११ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन् भने बाँकी चार जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

निर्वाचित ११ सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आङ्गेलु शेर्पा निर्वाचित भएका छन् ।

महाधिवेशनमा सबैभन्दा बढी मत सभापति गगन थापाले प्राप्त गरे । कुल सात हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । यो कुल मतको ९३.८८ प्रतिशत हो । उपसभापतिमध्ये सबैभन्दा बढी मत चन्द्र भण्डारीले प्राप्त गरे । उनले तीन हजार ७३५ मत पाए । महामन्त्रीमा सबैभन्दा बढी मत प्रदीप पौडेलले प्राप्त गरे। उनले चार हजार १९४ मत ल्याए । सभापतिपछि पदाधिकारीमध्ये बढी मत महिला सहमहामन्त्री प्रतिमा गौतमले ५ हजार ११६ मत प्राप्त  गरेकी छन ।

खुलातर्फका ४५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरे । संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यस्तै, पेसागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चुनिएका छन् ।

केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन् ।

गत असोज २३ गते मतदानपछि सोही दिन राति सभापतिको मतगणना सुरू गरिएको थियो। सभापतिको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको छ।

उनका अनुसार मतगणना सुरू भएकै दिनदेखि दिन र रातमा गरी झन्डै २५ समूह बनाएर गणना गरिएको थियो। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले बताए। यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको कटुवालले जानकारी दिए। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्र मार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।

यसैबीच नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ । उनको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए । उनको शपथग्रहणको समय ज्योतिषीय दृष्टिले पनि लाभ बेलाको साइतमा हुँदैछ । शनिबार दिउँसो २ बजे हुने भनिएको शपथको समयमा लाभ बेला पर्दछ ।

उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दशैँपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन् । यसअघि भने सबैको शपथ दशैँपछि गर्ने बताइएको थियो ।  कटुवालले सभापतिको शपथग्रहणमात्र  शनिबार गर्ने र अन्यको भने दशैँपछि नै हुने बताए । उनले भने, ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ । अन्य त कतिपय दशैँ मनाउन जिल्ला जिल्लामा गइसक्नुभएको छ । त्यसैले उहाँहरूको एकैपटक दशैँपछि शपथ हुन्छ ।

३० आश्विन २०८३, शुक्रबार १५:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा