पोखरा, पोखराको पृथ्वीचोक नजिक नयाँबजारमा राष्ट्रिय बाणिज्य बैंकले निर्माण गरेको नयाँ भवनबाट बैंकिंग सेवा शुरु भएको केहि महिना बितेको भएपनि नवनिर्मित भवनको उद्घाटन शनिबार गरिएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री एबम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आयोजित एक समारोहबीच बैंकको नवनिर्मित भवनको उद्घाटन गरेका हुन।
राष्ट्रिय बाणिज्य बैंक नेपाल सरकारको स्वामित्वम संचालित बैंक हो। बिभिन्न आरोह अबरोह पार गर्दै हाल नेपालका बाणिज्य बैंकहरु मध्ये सक्षम र बलियो बैंकको रुपमा यो बैंक स्थापित भएको छ। राष्ट्रिय बाणिज्य बैंक करिब छ दशक अगाडी स्थापना भएको भएपनि यहाँ निर्माण गरिएको यो भवन पोखरा क्षेत्रको लागि पहिलो हो । सुबिधा सम्पन्न उक्त भवनको निर्माणमा कुल २३ करोड ४६ लाख रुपैयाँ खर्च भएको उद्घाटन समारोहमा जानकारी गराइएको थियो ।
भूमिगत सहित छ तलाको उक्त नवनिर्मित भवनमा हाल राष्ट्रिय बाणिज्य बैंकको पृथ्वीचोक शाखा र गण्डकी प्रादेशिक कार्यालय गरि दुईवटा कार्यालय संचालनमा रहेका छन। पांच रोपनी क्षेत्रफलमा एक सय वटासम्म गाडी अट्नसक्ने पार्किंगस्थल सहित नयाँ र आधुनिक सुबिधा सम्पन्न भवनको ग्राउण्ड फ्लोरमा बैंकको शाखा कार्यालय र चौथो तलामा गण्डकी प्रादेशिक कार्यालय संचालनमा रहेका छन। भवनको निर्माण सम्पन्न भएपछि गत बर्षको माघ महिनाबाट बैंकको कार्यालय सोहि भवनमा सारिएको भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो ।
नवनिर्मित भवनमा बैंकमा आउने सर्बसाधारण महिला ग्राहकले आफ्नो शिशुलाइ स्तनपान गराउन सुबिधा पुगोस भन्ने उद्धेश्यका साथ स्तनपान कक्षको समेत निर्माण गरिएको छ। बैंकमा दिनहुँ पांच सयको हाराहारीमा सर्बसाधारण तथा ग्राहक विभिन्न सेवा लिन आउने भएकोले उनीहरु मध्ये शिशुसहित आउने महिलाहरुको सुबिधाको लागि स्तनपान कक्षको निर्माण गरिएको हो।
बैंकको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान एबम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सुध्रदै गएको दाबी गरे। मन्त्री पौडेलले बर्तमान सरकार गठन हुँदाका अवस्थामा अर्थतन्त्रमा देखिएको समस्याहरू क्रमशः सुधार हुँदै आएको बताउंदै देशको विग्रदो आर्थिक अवस्था लगायत विद्यमान समस्याको समाधान गर्नको लागि दुई प्रमुख दल सम्मिलित बर्तमान सरकार बनेको स्पष्ट पारे।
‘देशको अर्थतन्त्रमा सुधार भएको विषय आर्थिक सूचकहरूले पनि देखाइरहेको छन, बर्तमान सरकारसंग इच्छाशक्ति मात्र हैन, समस्याको समाधान गर्ने सामर्थ्य पनि छ’ मन्त्री पौडेलको भनाई थियो । सहकारीको विद्यमान समस्यालाई समाधान गर्ने गरी सरकार अघि बढीसकेको बताउँदै उनले सहकारी प्रतिको वितृष्णा अन्त्य गर्दै आशा जगाउने तवरबाट सरकारले काम गरिरहेको उल्लेख गरे ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गराउने तर्फ पनि सरकार सक्रियताका साथ लागिरहेको उनको भनाइ थियो । पोखरा र भैरहवा विमानस्थलको सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयमले पटकपटक बैठक तथा छलफल गरिरहनुभएको उल्लेख गर्दै उनले दुवै विमानस्थलको सञ्चालनमा सरकार गम्भीर रहेको जानकारी दिए ।
मन्त्री पौडेलले सरकारी बैंकहरूले आम सर्वसाधारणलाई आकर्षित गर्ने गरी आफ्नो सेवा प्रवाहमा जोड दिनुपर्ने भन्दै बाणिज्य बैंक पनि त्यसतर्फ गम्भीर रहन निर्देशन दिए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योग, कृषि तथा पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै उल्लिखित क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे।
प्रतिनधिसभा सदस्य दामोदर बैरागीले बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेमा रोजगारी र आर्थिक गतिबिधि बढ्ने भएकोले त्यसतर्फ बैंकहरुको ध्यान जानुपर्ने कुरामा जोड दिए ।
राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक एवम् अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा.रामप्रसाद ज्ञवालीले आर्थिक सूचकहरूले देशको अर्थतन्त्र सकारात्मक दिशामा गएको देखिएको जानकारी गराए ।
राष्ट्रिय वाािण्ज्य बैंकका सञ्चालक लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल लगायतले बैंकले प्रदान गर्नुपर्ने सेवा र मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको सम्बन्धमा आआफ्नो भनाई राखेका थिए ।
पोखरामा राष्ट्रिय बाणिज्य बैंकको पृथ्वीचोक शाखा सहित महेन्द्रपुल, अमरसिंहचोक, पार्दी, लेकसाइड र तालचोकमा शाखा संचालन भैरहेका छन् भने पोखराको हरिचोक बगरमा शाखा संचालनमा ल्याउने तयारी भैरहेको छ। नवनिर्मित भवनमा रहेको पृथ्वीचोक शाखा पहिले पार्दिमा संचालनमा थियो ।
माओबादीको शसस्त्र आन्दोलनका क्रममा सुरक्षाको कारण देखाएर पार्दिमा रहेको शाखालाई पृथ्वीचोकमा स्थानान्तरण गरिएकोमा नयाँ कार्यालय भवन बनेपछि सोहि भवनबाट सेवा संचालन हुन लागेको बैंकको पृथ्वीचोक शाखाका प्रबन्धक हरिराम पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय अन्तर्गत ३२ वटा शाखा संचालनमा रहेको र थप ५ वटा शाखा संचालनमा ल्याउने तयारी भैरहेको छ यसैगरी देशका ७ वटा प्रदेशका ७७ जिल्लामा २ सय ९४ वटा शाखा संचालनमा रहेको बैंकको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख पुष्पचन्द्र थापाले जानकारी दिए । यसका साथै बैंकले करिब ५० वटा एक्सटेन्सन काउन्टर, करिब १ सयवटा शाखा रहित बैंकिंग र २ सय ५० बढी एटिएमबाट सेवा दिइरहेको उनले बताए ।
र यो पनि पढ्नुहोस .
‘सरल कृषि कर्जा’ र ‘प्रदेश बिशेष कृषि कर्जा’ मार्फत कृषकसंग नजिकिंदै राष्ट्रिय बाणिज्य बैंक
बैंकको सुरक्षा प्रणालीलाई मजबुत बनाउन राष्ट्रबैंक पोखराका निर्देशक शर्माको जोड
पृथ्वीचोकमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ कार्यालय भवन, ग्राहकको संख्यासंगै कारोबारमा बृद्दी