Play

‘सरल कृषि कर्जा’ र ‘प्रदेश बिशेष कृषि कर्जा’ मार्फत कृषकसंग नजिकिंदै राष्ट्रिय बाणिज्य बैंक

आजको मितिमा बैंकमा ४ खर्ब ४० अर्ब डिपोजिट र २ खर्ब ७८ अर्ब लगानी छ,अझै एक खर्ब लगानी गर्नसक्ने अबस्थामा छौं- प्रदेश प्रमुख थापा


गुरुकुल खबर


पोखरा, राष्ट्रिय बाणिज्य बैंकले कृषकहरुको लागि ‘सरल कृषि कर्जा’ र ‘प्रदेश बिशेष कृषि कर्जा’ जस्ता नयाँ कार्यक्रम मार्फत कृषि क्षेत्रमा लगानी बढाउने प्रयास गरेको छ। आर्थीक रुपमा समस्यामा रहेका कृषकहरुलाई सहज तरिकाले सस्तो ब्याजदरमा ऋण लगानी गरेर उनीहरुलाई सुबिधा उपलब्ध गराउने मात्र नभएर कृषि क्षेत्रमा लगानी गरेर कृषि उत्पादन वृद्धि गरि आर्थिक गतिबिधि बढाउने उद्धेश्य अनुरुप कृषि क्षेत्रमा लगानी गर्न नयाँ कार्यक्रम शुरु गरिएको बैंकले जनाएको छ।

सोहि लक्ष अनुरुप बैंकले कृषि र पशुपालन गरिरहेका व्यक्ति र संस्थाहरुलाई सजिलो किसिमले ऋण उपलब्ध गराउन ‘सरल कृषि कर्जा’ कार्यक्रम शुरु गरेको छ। देशभरका सबै शाखाबाट व्यक्तिगत वा संस्थागत रुपमा कृषि र पशुपालन गरिरहेका कृषकलाई लक्षित गरि ल्याइएको उक्त कार्यक्रम अन्तर्गत हरेक व्यक्ति वा संस्थाले सस्तो ब्याज दरमा १० लाख रुपैयासम्म ऋण पाउने ब्यबस्था गरिएको छ।

ब्याजको लागि बैंकको आधार दरमा ०,५ प्रतिशत मात्र प्रिमियम थपेर ब्याज कायम गरिने र हालको अवस्थामा उक्त कर्जाको ब्याजदर ६.५१ प्रतिशत मात्र रहने राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रदेश कार्यालयका प्रमुख पुष्पचन्द्र थापाले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार करिब दुई महिना अगाडी शुरु गरिएको उक्त योजना अन्तर्गत गण्डकी प्रदेशका ३२ वटा शाखाले कृषि तथा पशुपालन गर्ने कृषकहरुलाई ऋण प्रबाह गर्ने क्रमलाई अगाडी बढाएका छन।

“कृषि वा पशुपालन गरेको कुनै व्यक्तिले सरल किसिमले हाम्रो बैंकबाट सस्तो ब्याजमा १० लाख रुपैयासम्म ऋण लिएर काम गर्न सक्छ। बैंकले अन्य ऋण लगानी गर्दा ०.७५ प्रतिशतसम्म सेवा शुल्क समेत लिने गरेको छ। तर ‘सरल कृषि कर्जा’ अन्तर्गत ऋण लिने कृषकलाई सेवाशुल्क समेत छुट गरिएको छ।” राष्ट्रिय बाणिज्य बैंकको गण्डकी प्रदेश कार्यालयका प्रमुख थापाले भने ।

बैंकको गण्डकी प्रदेश कार्यालयका कर्जा प्रमुख सहदेव पौडेलका अनुसार १८ वर्ष देखि ६५ बर्ष उमेर समुहका कुनैपनि कृषकले यो ऋण लिन सक्नेछन। बैंकबाट ऋण लिनको लागि ब्यबसायिक फर्म दर्ता गर्नुपर्ने, लेखा परिक्षण प्रतिबेदन लगायत विभिन्न कागजात जुटाउनुपर्दा अप्ठेरो हुने भएपछि कतिपय कृषकहरु बैंकसंग ऋण लिन आउन समेत अप्ठेरो मान्थे, तर त्यस्ता कृषकहरुको लागि राष्ट्रिय बाणिज्य बैंकको ‘सरल कृषि कर्जा’ उपयोगी बन्न सक्ने देखिएको छ। गत असोजबाट शुरु भएको यो कार्यक्रम अन्तर्गत विभिन्न शाखाबाट कति जना कृषकले कति ऋण लिए भन्ने तथ्यांक आउन  भने केहि समय लाग्ने उनले बताए ।

बैंकले सानो रुपमा कृषि पेशा गर्नेहरुको लागि ‘सरल कृषि कर्जा’ कार्यक्रम ल्याएकोमा ठुलो लगानी सहित ब्यबसायिक रुपमा कृषि र पशुपालन गर्नेहरुको लागि सस्तो ब्याजदर रहेको ‘प्रदेश बिशेष कृषि कर्जा’ कार्यक्रम समेत संचालनमा ल्याएको छ।  प्रदेश बिशेष कृषि कर्जा अन्तर्गत मुलुकका ७ वटा प्रदेशमा छुट्टाछुट्टै कृषि तथा पशुपालन ब्यबसायको लागि लगानी गर्ने योजना बैंकले अगाडी सारेको छ।

५ करोड रुपैयासम्म लगानी गर्ने यो कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा अलैंची खेती गर्ने कृषकहरुको लागि, मधेश प्रदेशमा माछा पालन गर्ने कृषकहरुको लागि, बागमती प्रदेशमा कुखुरा पालन गर्ने कृषकहरुको लागि, गण्डकी प्रदेशमा फलफुल खेती गर्न चाहने कृषकहरुको लागि र लुम्बिनी प्रदेशमा पशुपालन गर्न चाहने कृषकहरुको लागि प्रदेश बिशेष कृषि कर्जा दिने योजना बैंकले अगाडी सारेको छ।  यसैगरी कर्णाली प्रदेशमा जडिबुटी सम्बन्धि ब्यबसाय गर्न चाहनेको लागि र सुदुरपश्चिम प्रदेशमा केरा खेति गर्न चाहने कृषकहरुको लागि ७ प्रतिशत भन्दा सस्तो ब्याजदरमा ५ करोड रुपैयाँ  सम्म बैंकले ऋण लगानी गर्ने जनाएको छ।

विभिन्न वित्तीय संस्थाहरुमा पछिल्लो समय निक्षेप संकलन बढ्दै गएको भएपनि ऋण प्रबाह भने तुलनात्मक रुपमा बढ्न सकेको छैन। राष्ट्रिय बाणिज्य बैंकले पनि यस किसिमको समस्या भोग्नुपरिरहेको छ। बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख पुष्पचन्द्र थापा भन्छन, ” आजको मितिमा राष्ट्रिय बाणिज्य बैंकमा ४ खर्ब ४० अर्ब डिपोजिट रहेको छ भने २ खर्ब ७८ अर्ब मात्र लगानी अर्थात् ऋण प्रबाह भएको छ। बैंकले १ खर्ब रुपैयाको हाराहारीमा थप लगानी गर्न सक्छ, तर लगानी गर्ने उपयुक्त क्षेत्र वा ठाउँ नहुँदा उक्त रकम बैंकमा थन्किन पुगेको छ।”

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अबधिमा राष्ट्रिय बाणिज्य बैंकको गण्डकी प्रदेश अन्तर्गतका शाखाहरुबाट १९ अर्ब ६३ करोड रुपैयाँ लगानी भएको थियो । सोहि अबधिमा गण्डकी प्रदेशका विभिन्न शाखामा २६ अर्ब ८४ करोड निक्षेप संकलन भएको थियो। यसरि हेर्दा गण्डकी प्रदेशमा पनि लगानीको तुलनामा निक्षेप संकलन बढी रहेको स्पष्ट हुन्छ।

गण्डकी प्रदेशका विभिन्न शाखाहरुबाट गरिएको करिब २० अर्बको लगानी मध्ये करिब ४५ प्रतिशत लगानी व्यापारिक काम ( ब्यबसाय) मा भएको छ भने होटल, पर्यटनमा करिब २० प्रतिशत र बाँकि कृषि, जलबिद्युत र विभिन्न उद्योगधन्दामा लगानी भएको छ।

गण्डकी प्रदेशमा जलबिद्युत र पर्यटन क्षेत्रमा लगानीको सम्भावना रहेपनि विभिन्न कारणले लगानी बढ्न नसकेको बताइएको छ। बैंकका कर्जा प्रमुख पौडेलका अनुसार उत्पादनमुलक क्षेत्रमा बैंकहरुले लगानी गर्न नपाउँदा बैंकमा पुंजी थुप्रिने समस्या बढ्दो छ भने सरकारी खर्च बढ्न नसक्दा आर्थिक गतिबिधि समेत न्युन हुने गरेको छन । यसका साथै नेपालमा एकातिर उद्योगधन्दा कम हुनु र अर्को तिर उपभोक्ताहरुको संख्या समेत घट्दै जानुले उद्योग र ब्यबसायमा लगानी बढ्न नसकेको बैंकका प्रदेश प्रमुख थापाको भनाई छ ।

पृथ्वीचोकमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ कार्यालय भवन, ग्राहकको संख्यासंगै कारोबारमा बृद्दी

१९ मंसिर २०८१, बुधबार १८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा