पोखरा, पोखरा महानगरपालिका वडा नं. ७ स्थित सफलता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित भएकी छन । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष प्रमिला बराल, सचिव लक्ष्मी तिमिल्सीना अधिकारी, कोषाध्यक्ष सृजना बराल र सहसचिव कमला बराल चयन भए । कार्यसमिति सदस्यमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी छन् । यस्तै, लेखा समिति संयोजकमा सुजिता ढकाल बराल, सदस्यमा सुनिता पौडेल र ऋण संयोजकमा विजया बराल चयन छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीले कृषि उत्पादनको काम अगाडी बढाउने हो भने आफ्नो व्यक्तिगत र संस्थागत रुपमा साथ सहयोग रहने बताए।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दुर्गा अधिकारीले संस्थाले उदेश्य अनुरुप उत्पादनको क्षेत्रमा सोचे जस्तो काम गर्न नसकेको स्वीकार्दै सहकारीले आलु, अदुवा, वेसार उत्पादन गर्न सुरु गर्ने तयारी गरेको जानकारी दिईन । महिला उद्यमशीलताको विकासका लागि सहकारीले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने उनले बताईन्।
कार्यक्रममा अन्नपूर्ण टेडिङ्गका प्रमुख डाक्टर मेखबहादुर खत्री, महिला क्लब पोखराका अध्यक्ष मिना आचार्य, क्रियाशिल महिला विकास कृषि सहकारीका अध्यक्ष मनमाया बराल, लेखा समिति संयोजक नारायणी बराल लगायतले आफ्नो आफ्नो भनाई राखेका थिए ।
संस्थाका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा ढकालले स्वागत, सचिव प्रमिला बरालले कार्यक्रम सञ्चालन र सदस्य लक्ष्मी तिल्मिसिना अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् । उक्त अवसरमा जेष्ठ नागरिक आमा भागीरथी बराल, उत्कृष्ठ बचत कर्ता विष्णु पौडेल, उत्कृष्ठ ऋणी देवकुमारी (अम्विका) तिवारीलाई सम्मान गरिएको थियो ।