Play

सांग्रिला होटलका संस्थापक पाण्डेको ८७ बर्षको उमेरमा निधन

गुरुकुल खबर


काठमाडौँ, होटल साङ्ग्रिलाका संस्थापक तथा पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको छ । सन् १९३६ अकटोबर १२ मा जन्मेका उनी लामो समयदेखि स्मरणशक्ति लगायतका समस्याबाट पीडित थिए

उनको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सोमबार बिहान निधन भएको हो । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

२०३६ सालमा पाण्डेले लाजिम्पाटमा स्थापना गरेको साङ्ग्रिला होटल नेपालका प्रमुख पाँचतारे होटलमध्ये पर्छ । पाण्डेले साङ्ग्रिलालाई काठमाडौंबाट पोखरा र भरतपुरसम्म बिस्तार गरेका थिए ।

उनीसँग झण्डै ४० वर्ष सांग्रिलामा काम गरेका काभ्रेका जीत लामाका अनुसार, तीसको दशकमा सरकारी सेवामा अधिकृत तहमा कार्यरत पाण्डेले बेलायती लेखक जेम्स हिल्टनको चर्चित उपन्यास ‘लस्ट होराइजन’ उपन्यासबाट प्रभावित भई साङ्ग्रिला होटल स्थापना गरेका थिए ।

उपन्यासकारले ‘लस्ट होराइजन’ मा साङ्ग्रिला नामको काल्पनिक स्थान कल्पना गरेका छन् । हिमालयले घेरिएको साङ्ग्रिलालाई उपन्यासकारले पुस्तकमा रहस्यमय स्वर्ग भनी वर्णन गरेका छन् । त्यही पुस्तकमा वर्णन गरिएका डिजाइन, स्थानको नामबाट पाण्डेले होटलको नाम, क्याफे, बार, रेस्टुरेन्ट, गार्डनको नामकरण गरेको लामाले बताए ।

लामो समय सैनिक सेवामा रहेको पारिवारिक पृष्ठभूमीबाट आतिथ्य सत्कार क्षेत्रमा आएका पाण्डेको साङ्ग्रिला होटल स्थापना हुनुअघि लाजिम्पाट क्षेत्रमा होटल एम्बेस्डर, शंकर होटल, मल्ल होटल स्थापना भइसकेका थिए । यी बाहेक काठमाडौंको ताहाचलमा सोल्टी, दरबारमार्गमा अन्नपूर्ण र याक एण्ड यति होटल पनि संचालनमा थिए ।

‘नेपालको पर्यटन क्षेत्रमा श्याम पाण्डे दूरदर्शी व्यवसायी हुनुहुन्थ्यो,’ होटल संघ नेपालकी निर्वतमान अध्यक्ष सृजना राणाले भनिन्, ‘त्यसबेला नेपाल अहिले जस्तो सस्तो गन्तव्य होइन ‘क्यालिटी डेस्टीनेशन’ का रुपमा पर्यटकहरुमाझ उदाउँदो मुलुक थियो । त्यही भिडमा उहाँले नविनतम सोचका साथ साङ्ग्रिला स्थापना गर्नुभयो । कोभिडपछि साङ्ग्रिला नयाँ स्वरुपमा ल्याउन बन्द गरेर पुनर्निर्माण हुँदैछ । यो चुनौतीपूर्ण र उदाहरणीय काम हो ।’

पारिवारिक पृष्ठभूमी सैनिक अनि आफु सरकारी जागिरेमा रहेका पाण्डेले स्थापना गरेको साङ्ग्रिला फ्रेन्च, इटालियन पर्यटकमाझ लोकप्रिय थियो । सुरुमा ४० कोठाबाट थालिएको सांग्रिला लकडाउनअघि सय कोठामा विस्तार भइसकेको थियो ।

पाण्डे सन् १९९१–९३ सम्मको होटल संघ (हान) को अध्यक्ष थिए । त्यस्तै उनले प्यासिफिक एशिया ट्राभल एशोशिएसन (पाटा), नेपाल पर्यटन बोर्ड लगायतका थुप्रै संस्थामा योगदान गरेका थिए । पाण्डेका दुई छोरा र छोरी छन् ।

७ श्रावण २०८१, सोमबार २२:०५ मा प्रकाशित
Nabintech