Play

अमेरिकाको मेरिल्याण्डमा सामुदायिक पत्रकारिता बिषयमा नेजाको अन्तरक्रिया

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग सामुदायिक पत्रकारिता बिषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका सहभागीहरूले नेपाली डायस्पोराका निम्ति सामुदायिक पत्रकारिताको महत्त्व अधिक रहेकोमा जोड दिएका थिए । वक्ताहरूले आग्रह वा पूर्वाग्रह नराखी नेपाली समुदायको हितका निम्ति गरिने पत्रकारितालाई समुदायले सधैं महत्त्व दिँदै आएको समेत उल्लेख गरे ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबीचको फरक अनि पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीचको फरक छुट्टयाउन नसक्दा कतिपय अवस्थामा त्यसले असमझदारी उत्पन्न गर्ने गरेको कतिपयले बताए । सामाजिक सञ्जाल सूचना वा सामग्री सम्प्रेषण गर्ने माध्यम भएको र यसको बढ्दो प्रयोगले सूचना सम्प्रेषणमा सहयोग पुगिरहेको भए पनि समाचार स्वरुप र विश्वसनीयतामा आधारित हुने भएकाले सामाजिक सञ्जालमा दिइने सामग्री र समाचार सामग्री फरक हुन् भन्ने तथ्यलाई बिर्सन नहुनेमा सहभागीहरूको जोड रहेको थियो ।

नेपाली डायस्पोराभित्रको एउटा बलियो पक्षको रुपमा सामुदायिक पत्रकारिता रहेको र यसमा संलग्न रहेका पत्रकारहरूले समुदायको वृत्ति विकासका लागि अझ बढी योगदान गर्न कार्यक्रममा सहभागी सामाजिक अभियन्ताहरूको आग्रह थियो।बानाको सभाहलमा आयोजित कार्यक्रममा  समुदायको खबर प्रवाह गर्ने सञ्चारमाध्यमको विकास र विस्तारका लागि नेपाली समुदाय नै अग्रसर हुनुपर्नेमा सहभागी पत्रकारहरूको भनाइ थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महत, मेरिल्यान्ड राज्य हाउस अफ डेलिगेट्स डा.ह्यारी भण्डारी, गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्वअध्यक्ष शिव राई, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिकाज इन्चार्ज प्रभु थापा, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, गैरआवासीय नेपाली संघ चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिकाका अध्यक्ष सुवोध विलास पन्त, उपाध्यक्ष लक्ष्मी भारती, एनआरएनए अमेरिका न्यू ह्याम्पसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना, समाजसेवी दिपक खतिवडा, बद्री खतिवडा, सन्तोष न्यौपाने लगायतले आआफ्नो भनाई राख्दै नेपाली डायस्पोरालाई बलियो बनाउन पत्रकारिताले ठूलो योगदान दिइरहेको उल्लेख गरे।

अग्रज पत्रकार जीवेन्द्र सिम्खडा विषयवक्ताको रूपमा रहेको उक्त अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष गौतम दाहाल, अग्रज पत्रकारहरू डा. प्रदीप भट्टराई, विष्णु शर्मा, नेजा आजीवन सदस्य लेखनाथ भण्डारी, नेजाका अनुशासन समिति संयोजक सतीश चापागाईंले पत्रकारहरूका तर्फबाट आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नेजाका सदस्य सागर घिमिरेले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको संयोजन नेजा डिसी मेट्रो क्षेत्रीय संयोजक सिर्जना काफ्लेले गरेकी थिईन ।

३१ असार २०८१, सोमबार २१:४९ मा प्रकाशित
Nabintech