Play

माओबादीले कारबाही गरेका सांसद देवकोटा दोश्रोपटक मन्त्री बन्दै, गण्डकी सरकारमा नौजना मन्त्री बन्ने सम्भावना

गुरुकुल खबर


पोखरा, नेकपा माओवादी केन्द्रले गरेको कारबाही गरि गण्डकी प्रदेशको सांसदबाट हटाएको भएपनि सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित सांसद फणीन्द्र देवकोटा दोश्रो पटक मन्त्री बन्ने भएका छन ।  उनलाई पुन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आबश्यक तयारी गरेका छन ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि संसदीय गतिविधिमा फर्किएका गण्डकी प्रदेशसभा सदस्य देवकोटालाई पुनः मन्त्री बनाएपछिआइतबार बिहान १० बजे शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउने तयारी छ ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत २८ जेठमा विश्वासको मत दिएपछि उनले यसअघि २९ जेठमा सोही मन्त्रालयको जिम्मा पाएका थिए ।

माओवादी केन्द्रले सांसदबाट कारबाही गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका थिए । देवकोटालाई गत बिहीबार नै शपथ गराउने तयारी थियो । त्यो दिन सभामुखले संसद प्रवेशमा रोक लगाएपछि उनको शपथ रोकिएको थियो ।

गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद् छ । १७ असारमा आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित गर्ने तयारी छ । त्यसपछि राप्रपालाई पनि सरकारमा ल्याउने योजनामा मुख्यमन्त्री पाण्डे छन् । राप्रपा समेत सरकारमा आउँदा सम्म गण्डकी प्रदेश सरकारको मन्त्री परिषद नौ जनाको बन्ने अनुमान गरिएको छ।

१५ असार २०८१, शनिबार १९:४१ मा प्रकाशित
Nabintech