पोखरा: पोखराको गन्धर्व नाटकघरमा यतिबेला ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । पद्याप्रेम थिएटरको प्रस्तुतिमा नाटककार केदारनाथ पौडेलद्वारा लिखित एवम् कपिल शर्माद्वारा निर्देशित नाटक यही माघ २७ गतेसम्म चल्नेछ।
नाटकको मुख्य पात्रका रुपमा दिलप्रसाद गुरुङलाई देख्न सकिन्छ , यस्तै विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन बिक र अभिषेक भुसालको अभिनय नाटकमा रहेको छ ।
(नाटकका कलाकारहरु संगै नाटक हेर्न पुगेका प्राज्ञ प्रकाश ज्ञवाली, पत्रकारहरु गंगाधर पराजुली र रामकृष्ण ज्ञवाली)
नाटकले गाउँले जिबन र पछिल्लो समयमा भित्रिएको प्रबिधिको प्रयोग अनि त्यसको त्यसको चुनौतिलाई व्यंग्य गरेर पस्किएको छ । सर्बसाधारणले परम्परागत रुपमा संचालन गर्दै आएको काममा नया प्रयोग र प्रबिधि लागु गर्न खोज्दा आईपर्ने चुनौती लाई नाटकले स्पस्ट रुपमा झल्काएको छ ।
बिहिबार नाटक हेर्न पुगेका बिम्ब कबि एबम प्राज्ञ रमेश श्रेष्ठले नाटकले ग्रामिण परिवेश र नया प्रविधिको प्रयोगमा आउन सक्ने चुनौतीलाई बुझिने गरि प्रस्तुत गरेको बताए ।
प्राज्ञ प्रकाश ज्ञवालीले पोखरालाई पर्यटनसंगै नाटक सहितको कलासंस्कृति र साहित्यको शहरको रुपमा विकास गर्न सकिने बताउदै नाटक विधा महत्वपूर्ण विधा बनेको बताए ।
नाटक हेर्न पुगेका नेपाली काँग्रेसका युवा शितल अधिकारीले नाटकको विषयबस्तु र कलाकारको प्रतिभा साँच्चिकै प्रशंसनिय रहेको बताए ।