Play

मुस्लिम संघको गण्डकी प्रदेश भेला पोखरामा हुंदै, मुस्लिम समुदायको सहभागिता पार्टी र सरकारमा सुनिश्चित गराउन पहल गरिने

गुरुकुल खबर


पोखरा। नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश भेला शनिबार पोखरामा हुने भएको छ । संघको दोस्रो प्रदेश भेलाको लागि आवश्यक तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन ।

संघको गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा हुन लागेको प्रदेश भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहने बताइएको छ ।

प्रत्येक दुई दुई वर्षमा हुने गरेको यस किसिमको भेला यस पटक भने कोभिड लगायत विभिन्न समस्याका कारण ४ वर्ष पछि हुन लागेको हो ।

मुस्लिम समुदाय बिच एकता र सद्भाव बृद्दी गर्ने र राज्य अनि मातृ पार्टी नेपाली कांग्रेसबाट मुस्लिम समुदायको हक़ हित र विभिन्न तहमा सहभागिता रहने विषयमा भेलामा गम्भीर छलफल गरिने भएको छ ।

मुस्लिम समुदायको जनसंख्या पहाडी क्षेत्रमा कम भएकोले नेपाली कांग्रेसले समेत पार्टीको विभिन्न तहमा सहभागिता सुनिश्चित नगराएकोमा साथै राज्य संतरबाट समेत मुस्लिम समुदायको प्रतिनिधित्व निति निर्माण तहमा सुनिश्चित हुन नसकेकोमा यो भेलामा गम्भीर छलफल हुने बताईएको छ ।

भेलामा राज्यबाट उपलब्ध हुने सेवा सुविधामा मुस्लिम समुदायलाई बन्चित हुन नदिन नेपाली कांग्रेसले आवश्यक पहल गर्नुपर्ने र नेपाली कांग्रेसले पनि मुस्लिम समुदायको प्रतिनिधित्व सबै तहमा हुने व्यवस्था गर्न निर्वाचन प्रणालीमा परिवर्तन वा समावेशी समानुपातिक प्रणाली अबलम्बन् गर्नुपर्ने आवाज़ भेलामा उठ्ने बुझिएको छ ।

भेलाकै अवसरमा प्रदेशभित्रका कास्की, तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर लगायतका जिल्लाबाट गत बर्षको एसईई परिक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका मुस्लिम समुदायका विधार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । त्यस्तै संघको महाधिवेशनबाट केन्द्रिय कार्यसमितिमा गण्डकी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई समेत सम्मानको कार्यक्रम राखिएको अध्यक्ष शाह मोहम्मद  मियाँले बताए ।

गण्डकी प्रदेशमा करिब ६५ हज़ारको संख्यामा मुस्लिम हरु रहेकोमा स्यांजा, तनहुं, कास्की, गोर्खा र बाग्लुडंमा बढी रहेको र नवलपुरमा न्यून संख्यामा मुस्लिमहरु रहेको बताईन्छ । मनागं र मुस्ताडं जिल्लामा भने मुस्लिम समुदायको बसोबास नरहेको बताईएको छ

भेला सम्पन्न गर्न प्रदेश समितिका अध्यक्ष मिया संयोजक रहेको पाँच सदस्यीय समितिले तिव्रताका साथ काम गरेको छ । समितिमा सराफत अलि, जब्बार दिन मिया, अब्दुल जलिल मिया र मोहम्मद मजिद मिया सदस्य रहेको छन । कार्यक्रमको लागि मन्च व्यवस्थापन सहित कार्यक्रम स्थलको व्यवस्थापनको लागि असरफ मियाले संयोजकको रुपमा काम गरेका छन ।

संघका प्रदेश समिति अध्यक्ष शाह मोहम्मद मियाँका अनुसार भेलाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै कार्यक्रमलाई काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश जलस्रोत तथा उर्जामन्त्री सरस्वती अर्याल तिवारी, पार्टीका प्रदेश सभापति शुक्रराज शर्मा, संघका केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष शाह मोहम्मद मियाँले गुरुकुल खवरलाई जानकारी दिए।

पोखराको सृजनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा हुने भेलामा करिब पाँच सय जनाकाे सहभागिता रहने उनले जानकारी दिए ।

१३ पुष २०८०, शुक्रबार २२:३६ मा प्रकाशित
Nabintech