पोखरा, नेपाल सारथि फाउन्डेसन तथा इकोनोमिक्स हब नेपालको संयुक्त आयोजनामा नेपालमा महिला : चुनौती र सम्भावना विषयक क्षेत्रीय सम्मेलन गण्डकी प्रदेशमा हालै सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलन ३ सत्रहरूमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आलेले महिला स्वयंममा सशक्त हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुष भन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नु पर्छ भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे । उनले समाजको सन्तुलित विकासका लागि राज्य मात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सके मात्र उद्देश्य प्राप्ति हुने बताए ।
यस्तै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले महिलाको सवालमा महानगर सधैं काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन संभव भएको बताए ।
सो सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न डाटा तथा फिगर लाई पेपर प्रस्तुती गर्दै पोखरा विश्वविद्यालयका असोसिएट प्रोफेसर दीपेन्द्र पहरीले गण्डकी प्रदेश भित्र रहेका महिला संरचनाहरूलाई जोड दिएका थिए । गण्डकी प्रदेश सरकार महिलामैत्री सरकारको रूपमा रहेको र गण्डकी प्रदेश सरकारको बजेट अरू प्रादेशिक सरकारभन्दा महिलामैत्री बढी महिलामैत्री रहेको उनले बताए । त्यसै गरी पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पुरुषहरूलाई उनको नेतृत्व अपच भएको पाएको अनुभव सुनाइन् । भण्डारीले हाम्रो परम्परागत सोचाइ चिर्दै छोरी मनिसको नेतृत्व रहेको ठाउँ स्वर्गभन्दा नि अब्बल हुने भएकाले महिला नेतृत्व हरेक क्षेत्रमा प्रवद्र्धन गर्नु पर्ने बताइन् ।
सारथि फाउन्डेसनका कार्यक्रम संयोजक अजर गुरुङले सातै प्रदेशमा प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफूहरूले लामो समय देखी महिलाको आवाज बुलन्द पार्दै आएको सुनाइन् ।
कार्यक्रमको पहिलो सत्रमा स्वास्थ्यमा महिला भन्ने विषयक रहेको थियो भने उक्त सत्रमा डाक्टर विनोद विन्दु शर्मा, डाक्टर अन्जली सुवेदी, डाक्टर सरस्वती लगायत प्यानलिस्टहरुको उपस्थिति रहेको थियो । उक्त सम महिलाहरूले स्वास्थ्य क्षेत्रमा सामना गर्नुपरेको विभिन्न चुनौतीहरू बारेमा छलफल गरिएको थियो ।
दोस्रो सत्र महिलालाई अवसर भन्ने विषयक रहेको थियो भने उक्त सत्रमा डिल्लीराम सुवेदी, शुक्रराज सुवेदी, चिन गुरुङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव मनमाया भट्टराई पङ्गेनी तथा पन्तको उपस्थिति रहेको थियो । तेस्रो सम्मेलनमा अञ्चला चौधरी, विमला भण्डारी तथा विना सिलवाल प्यानलिस्ट रही महिलाका लागि न्यायिक संरचना विषयमा सत्र चलेको थियो ।
सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अङ्कित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानुनका विषयमा अन्तरक्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्न, उनीहरूको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए ।