पोखरा, नेपाली काँग्रेसमा बिशेष महाधिबेसन पक्षधरले काठमाडौँमा १५ औं महाधिबेशन गरिरहेको बेला बिशेष महाधिबेशनको बिपक्षमा रहेका र नियमित महाधिबेशनको पक्षधरहरुले जिल्ला जिल्लामा संगठन बिस्तार गर्दै नियमित १५ औं महाधिबेशनको तयारीलाई तिब्रता दिएका छन। यसक्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका सहित बिभिन्न पालिकाका अधिकांश वडामा अधिबेशन सकिएको र अब पालिकाको अधिबेशनको तयारी भैरहेको बुझिएको छ ।
कास्कीमा पोखरा महानगरपालिका सहित अन्नपुर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका गरि ५ वटा पालिकामा ७२ वडा रहेकोमा अधिकांश वडामा अधिबेशन सकिएको र बाँकी वडाको अधिबेशन पनि १/२ दिन भित्रमा नै सम्पन्न हुने १५ औं महाधिबेशन तयारी समिति कास्कीका संयोजक ऋषिराम काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए। काफ्लेका अनुसार पार्टीका जिल्ला तह र पालिका तहका नेताहरु वडा र पालिका तहको अधिबेशन सम्पन्न गर्नको लागि दौडधुपमा लागिरहेका छन।
पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा सम्बद्ध उक्त समुहले नियमित १५ औं महाधिबेशन गर्नको लागि केन्द्रमा पार्टीका पुर्व महामन्त्री एबम बिपी पुत्र शशांक कोइराला संयोजक रहेको १५ औं महाधिबेशन तयारी समिति गठन गरिसकेको छ भने जिल्ला जिल्लामा पनि अधिबेशन तयारी समिति गठन भैसकेको छ।
कास्कीमा कांग्रेस महासमिति सदस्य काफ्लेको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला अधिबेशन तयारी समितिका अतिरिक्त कास्की क्षेत्र न. १ मा बिकास लामा गुरुङ, क्षेत्र न.२ मा राजेन्द्र बराल र क्षेत्र न. ३ मा पदम बस्ताकोटी संयोजक रहेको क्षेत्रिय अधिबेशन तयारी समितिले सक्रियता पुर्वक काम गरिरहेको छ।

उक्त समुहले यथाशिघ्र १५ औं महाधिबेशनको लागि गठन गरेको केन्द्रीय समितिमा केहि सदस्य थप गरेर बिस्तार गर्नुपर्ने र सातवटा प्रदेशमा समेत प्रदेश समिति बनाउनुपर्ने आवाज पनि नेता कार्यकर्ताहरुबाट उठिरहेको छ। कतिपय नेताहरुले जिम्मेवारी पाएपछि मात्र समुहमा सक्रिय हुने मन बनाएको कारण सम्भव भएसम्मको जिम्मेवारी दिनुपर्ने आवाज जिल्ला तहबाट उठिरहेको छ।
केन्द्रले पनि छिट्टै प्रदेश समिति सहित अन्य संरचना बनाउने भनेको तर हालसम्म समितिको बिस्तार एबम प्रदेश संरचना सहित बिभिन्न भातृसंस्थाहरु नबनेको कारण कतिपय नेता कार्यकर्ताहरु अझै अलमलमा रहेको र समुहका गतिविधिमा अपेक्षा गरेअनुसार सक्रिय नभएको समेत बताइन्छ।

उक्त समुहले पालिकास्तरमा पनि समिति गठन गरेर कांग्रेसका स्थानीय नेताहरुलाई जिम्मेवारी दिएकोमा कास्कीको अन्नपुर्ण गाउँपालिकामा भरत केसी, माछापुच्छ्रे गाउँपालिकामा माधव आचार्य, मादी गाउँपालिकामा खिमबहादुर जिसी र रुपा गाउँपालिकामा ढकबहादुर थापालाई गाउँपालिका अधिबेशन तयारी समितिको संयोजक तोकेको छ।
पोखरा महानगरपालिका अधिबेशन तयारी समितिको संयोजकमा मिलन तिवारीलाई तोकिएको छ। संयोजकहरुले सम्बन्धित पालिकाहरुमा अधिबेशनको प्रक्रियालाई तिब्रता दिएको जनाएका छन ।

कास्की जिल्लाका ७२ वडामध्ये अधिकांश वडामा अधिबेशन भैसकेको बुझिएको छ वडा अधिबेशन सम्पन्न भएका कास्कीको क्षेत्र न. ३ मा पर्ने अन्नपुर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको पालिका अधिबेशन असोज २२ गते बिहिबार गरिने क्षेत्रिय संयोजक पदम बस्ताकोटीले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार कास्की क्षेत्र न. ३ अन्तर्गत पर्ने पोखरा महानगरपालिकाका अधिकांस वडामा वडा अधिबेशन सम्पन्न भैसकेको छन। बाँकी रहेका केहि वडाको पनि १/२ दिन भित्रमा अधिबेशन सम्पन्न गरिंदै छ।

यसैगरी कास्की क्षेत्र न. १ का संयोजक बिकास लामा गुरुङले पनि आंफ्नो क्षेत्र अन्तर्गतका बिभिन्न वडामा अधिबेशन गर्ने कार्यले तिब्रता पाइरहेको बताए। ‘केहि वडामा अधिबेशन हुन बाँकी रहेपनि १/२ दिन भित्रमा वडा अधिबेशन गरेर पालिका अधिबेशनमा जुट्नुपर्ने भएको छ’ संयोजक लामाले भने ।
बिभिन्न वडामा अधिबेशन गर्न पुगेका जिल्ला अधिबेशन तयारी समितिका सचिब सुरेन्द्रनाथ शर्माका अनुसार वडास्तरको अधिबेशनमा अधिकांश वडामा काँग्रेसका निष्ठावान कार्यकर्ता र युवाहरुको उल्लेखनीय सहभगिता देखिएको छ।’वडातहमा देखिएको उर्जा र उपस्थितिले अगाडी बढ्ने हौसला दिएको कारण यथाशिघ्र कास्कीका ५ वटै पालिकाको अधिबेशन गर्ने तयारीमा हामी जुटेका छौं’ शर्माले भने।

कास्कीमा वडा तहसम्मको अधिबेशनमा पनि दिनहुँ जस्तै खटेका १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसको बिशेष महाधिबेशन पक्षधरले तल्लो तहका कार्यकर्तालाई समेत भ्रमित बनाएको र कतिपय कार्यकर्तालाई विभिन्न किसिमको दवाब दिने र प्रभावमा पार्ने गरेको देखिएको बताए।
त्यस किसिमको प्रयासलाई निस्तेज पार्दै कांग्रेसलाई थप संगठित बनाउने अभियान स्वरूप आँफु पनि अन्य साथिहरुसंगै वडा तहमा क्रियाशील भैरहेको उनले स्पष्ट पारे।

कास्कीको पोखरा महानगरपालिकाका अधिकांश वडामा अधिबेशन सम्पन्न भएर वडा कार्यसमिति एबम क्षेत्रिय प्रतिनिधिहरु चयन भैसकेको भन्दै पोखरा महानगरपालिकाको अधिबेशन तयारी समितिका संयोजक मिलन तिवारीले पालिका तहसम्मको अधिबेशन केहि दिनमा सकिने बताए।
तिवारीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार महानगरका बिभिन्न वडामा भएको वडा अधिबेशनबाट पोखराको वडा न. २ मा पुष्पा नापित, वडा न. ३ मा जितेन्द्र कायस्थ, वडा न. ४ मा गोबिन्द कोइराला, वडा न. ५ मा भगवान अधिकारी, वडा न. ६ मा मन्दरा ढकाल, वडा न. ७ मा बसन्त आले वडा न. ९ मा सागर कुँवर वडा कार्यसमितिको सभापतिमा चयन भएका छन।

यसैगरी पोखराको वडा न. १२ मा भिषण थापा मगर,वडा न. १४ मा सागर पौडेल, वडा न. १५ मा केमबहादुर गुरुङ, वडा न. १६ मा रमेश बस्नेत, वडा न. १८ मा बिजय थापा, वडा न. १९ मा भोलानाथ तिवारी, वडा न. २१ मा बरुण पौडेल, वडा न, २३ मा बिश्वराज पराजुली वडा न. २४ मा कुलप्रसाद बस्ताकोटी वडा कार्यसमितिको सभापतिमा चयन भएका छन।
पोखराको वडा न. २५ मा मदन पौडेल, वडा न. २६ मा गणेश बन्जारा, वडा न. २७ मा विश्वराज पौडेल, वडा न. २८ मा शम्भुराम पाण्डे, वडा न. २९ मा शशांक मणि भट्टराई, वडा न. ३१ मा शालिकराम पाण्डे, वडा न, ३२ मा घनश्याम खनाल र वडा न. ३३ मा सम्मरबहादुर पौडेल वडा कार्यसमितिको सभापति चयन भएका छन।

यसपटक पोखराका ३३ वडा मध्ये वडा न. ६ र २ को वडा सभापतिमा महिलाले जिम्मेवारी पाएका छन। वडा न. ६ को सभापतिमा निर्बाचित मन्दरा ढकाल कांग्रेसको पुरानो कार्यकर्ता एबम नेपाल महिला संघको वडा कार्यसमितिको सभापति समेत हुन् भने पोखरा -२ को सभापतिमा निर्बाचित पुष्पा नापित पनि पुरानो कांग्रेस परिवारकी सदस्य हुन । अन्य वडामा सभापतिको जिम्मेवारी लिनेहरुमा अधिकांश कांग्रेसका पुराना कार्यकर्ता र युवाहरु रहेको छन ।
कास्कीका बिभिन्न वडामा कांग्रेसको अधिबेशन गराउन पार्टीका केन्द्रीय सदस्य गुरु बराल सहित पुर्व पर्यटन राज्यमन्त्री एबम कांग्रेस नेता महादेव गुरुङ, महाधिबेशन प्रतिनिधि पोषनाथ शर्मा, महासमिति सदस्य दुर्गाप्रसाद तिमिल्सिना, नेता एबम अग्रज पर्यटन ब्यबसायी गणेश बहादुर भट्टराई, नेविसंघका पुर्व केन्द्रीय सदस्य गोबिन्द एलसी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, नेपाल तरुण दल कास्कीका उपसभापति प्रेमलाल पुन १५ औं महाधिबेशनको लागि गण्डकी प्रदेश स्तरीय निर्बाचन समितिका संयोजक बिरेन्द्र केसी एबम बिभिन्न पदीय जिम्मेवारीमा रहेका अन्य नेताहरु सक्रियतापुर्वक लागेका छन।
‘हामि सत्यको पक्षमा लागेका छौं त्यसैले शुरुका दिनमा कार्यकर्ताको संख्या केहि कम देखिएला तर समय बित्दै जाँदा सत्यको पक्षमा लाग्ने शक्ति नै ठुलो बन्छ।’ कांग्रेस नेता एबम पोखराका अग्रज पर्यटन ब्यबसायी गणेशबहादुर भट्टराईले भने ।

पोखरामा नेपाली काँग्रेसको कास्कीको आंफ्नै कार्यालय भवन सहित मासिक लाखौँ रुपैया आउने भवन पनि छ। तर, उक्त भवन सहित क्षेत्रिय समिति वडा समितिका भवनहरु हाल गगन थापा नेतृत्वको नेपाली काँग्रेसका बिभिन्न तहका समितिहरुले उपभोग गर्दै आएको कारण देउवा समूहको नेपाली काँग्रेसले सबै तिर छुट्टै कार्यालय सहितको संरचनाको ब्यबस्थापन गर्नुपर्ने भएको छ।
यस क्रममा उक्त समुहले १५ औं महाधिबेशन आयोजक समितिको कास्की जिल्लास्तरीय सम्पर्क कार्यालय पोखराको मुख्य बजार महेन्द्रपुल नजिक बाँस्तोलाथरमा राखिएको र सोही कार्यालयबाट पार्टीका गतिबिधि संचालन गरिंदै आएको छ ।














