Play

कांग्रेस नेता सिग्देलको प्रश्न- फर्जी मतदाता र मतपत्रको बारेमा सप्रमाण उजुरी दिंदा पनि केन्द्रीय नेतृत्व किन मौन?

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति निर्वाचनका उम्मेदवार सुवास सिग्देलले निर्वाचन प्रक्रियामा धाँधली र फर्जी मतदान भएको आरोप लगाउँदै पार्टी सभापति गगनकुमार थापासहित शीर्ष नेतृत्वको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय निर्वाचनमा आफूविरुद्ध अन्याय भएको दाबी गर्दै सिग्देलले पार्टीका केन्द्रीय प्रवक्तासमेत रहेका कास्की–२ का नेता देवराज चालिसेको बदमासीमाथि समेत प्रश्न उठाएका हुन्।

सिग्देलले निर्वाचन प्रक्रियामा फर्जी मतपत्र प्रयोग भएको र अनियमिततासम्बन्धी प्रमाणसहित उजुरी दिँदा पनि त्यसको निष्पक्ष सुनुवाइ नभएको आरोप लगाएका छन्। ‘असोज १२ र १३ गते सम्पन्न निर्वाचन प्रक्रियामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग गरिएको भेटिएको छ यसका साथै पोखरामा अनुपस्थित रहेका क्षेत्रीय प्रतिनिधिको नाममा समेत फर्जी मतदान भएको भनेर उजुरी दिंदा पनि पार्टीको माथिल्लो तहबाट कुनै ठोस तथा न्यायसंगत निर्णय नहुनु दुखद हो।’ सिग्देल सहित चारजना उमेदवारको भनाई छ।

निर्वाचन निष्पक्ष नभएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवारद्वय सुवास सिग्देल र देवकृष्ण पराजुली तथा प्रदेश सभापति पदका उम्मेदवारद्वय अर्जुन पोखरेल (क) र दीपेन्द्र मर्सीनी (ख) ले संयुक्त रूपमा निर्वाचन अधिकृतलाई पुनः निर्वाचनको माग गर्दै निवेदन दर्ता गराएका हुन् । ३२ मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको र पोखरामा नभएका क्षेत्रीय प्रतिनिधिहरूको फर्जी मतदान गरी एकपक्षीय तरिकाले मतगणना गरिएको थियो ।

यो निर्वाचनलाई रद्द गरी पुनः निर्वाचन गराउन मागसहित पत्र पठाएका थिए । प्रमाणसहित उजुरी दिँदा पनि पार्टीको केन्द्रीय नेतृत्वले कुनै चासो नदेखाएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवार सुवास सिग्देलले आज पुनः एक प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वको मौनताप्रति आपत्ति जनाएका छन् । विधि सम्मत रूपमा छानबिन गरी न्याय दिनुको सट्टा नेतृत्व मौन बसेर उल्टै निष्ठावान् कार्यकर्तालाई पाखा लगाउने काम भएको भन्दै उनले आक्रोश पोखेका छन ।

उनले पार्टी सभापति थापा, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल तथा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्कासंग पटक पटक कुरा भएपनि समेत यस विषयमा अहिलेसम्म स्पष्ट प्रतिक्रिया नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। सिग्देलले पार्टीको केन्द्रीय नेतृत्वले निर्वाचन विवादमा निष्पक्ष छानबिन गर्नुको सट्टा मौनता साँधेको आरोप लगाउँदै त्यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र विधिको शासनमाथि प्रश्न उठाएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “केन्द्रबाट हालसम्म कुनै पनि राय, प्रतिक्रिया वा निष्पक्ष निर्णय नआउनु अत्यन्तै दुःखी र खेदजनक विषय हो। विधिको शासनलाई आत्मसात् गर्नुको साटो केन्द्रीय प्रवक्ताको ढाकछोक र संरक्षणमा लाग्ने प्रवृत्तिले पार्टीलाई कुन दिशामा लैजाँदै छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।”

सिग्देलले पार्टी सभापति थापासहित शीर्ष नेतृत्वलाई लक्षित गर्दै आफूहरूले दाबी गर्दै आएको ‘परिवर्तित नेपाली कांग्रेस’को अवधारणामाथि प्रश्न गरेका छन्। ‘के तपाईंहरूले सोचेको, खोजेको र दाबी गरेको परिवर्तित नेपाली कांग्रेस यही हो ? यदि थिति, विधि र न्यायलाई तिलाञ्जली दिएर चलाइने संरचना नै परिवर्तित कांग्रेस हो भने मेरो यसमा कुनै व्यक्तिगत गुनासो रहने छैन,’ सिग्देलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले पार्टीभित्र विधि र न्यायको पक्षमा आवाज उठाउँदा पनि सुनुवाइ नहुनु तथा निर्वाचनसम्बन्धी उजुरीलाई बेवास्ता गरिनुले कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्। सिग्देलले निर्वाचन विवादमा केन्द्रीय प्रवक्ता चालिसेको भूमिका खेदजनक भएको बताउँदै उनको प्रभावमा परेर पार्टी नेतृत्वले विवादलाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनले प्रवक्ताको कथित ढाकछोप र संरक्षणमा नेतृत्व लागेको हो भने त्यसले पार्टीलाई कुन दिशामा लैजाने हो भन्ने प्रश्नसमेत गरेका छन्।

क्षेत्रिय सभापतिका उमेदवार सिग्देलले पार्टीभित्र देखिएका भनिएका अनियमितता र अन्यायलाई निरन्तरता दिइए नेपाली कांग्रेसको १५औं महाधिवेशनको औचित्यमाथि नै नैतिक प्रश्न उठ्ने बताएका छन्। “यस्तै बेथिति, अन्याय र धाँधलीलाई निरन्तरता दिइने हो भने आगामी १५ औँ महाधिवेशनको औचित्यमाथि नै गम्भीर नैतिक प्रश्नचिह्न खडा भएको महसुस मलाई भएको छ ।” उनले भनेका छन् । उनले पार्टीभित्र विधि, न्याय र लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका लागि आफ्नो संघर्ष जारी रहने स्पष्ट पारेका छन्।

१६ आश्विन २०८३, शुक्रबार १७:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा