पोखरा, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गण्डकी प्रदेशको बाग्लुंग,म्याग्दी र मनांगमा गरि २१ जनाको मृत्यु भएको छ भने केही बेपत्ता छन् । अविरल वर्षाका कारण प्रदेशभर ११ वटा झोलुंगे पुल, ६ वटा पक्की पुल र ४३ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको बुझिएको छ । आइतबार र सोमबार गरी १ सय ४३ जनालाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको र भौगोलिक रूपमा कठिन र दुर्गम क्षेत्रमा पनि उद्धार टोली खटाइएको छ ।
बागलुङका छुट्टाछुट्टै स्थानमा १० जनाको मृत्यु भएको छ। पहिरोमा परी एक जना बेपत्ता भएका छन्। प्राप्त विवरणअनुसार तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ। सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता भएकी छन्। यस्तै, तमानखोला गाउँपालिका–३ धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ।
यसैगरी, निसीखोला गाउँपालिका–६ सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पहिरोमा परी मृत्यु भएको छ। निसीखोला गाउँपालिका–३ कन्केखरियामा भने पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन्। यसैगरी ताराखोला गाउँपालिका–५ धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ।
यसैबीच गण्डकी प्रदेशको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सोमबार बसेको र प्रदेशका ११ वटै जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ नघट्ने गरी बजेट व्यवस्था गरिएको बुझिएको छ। ‘प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । तत्काल आवश्यक पर्ने खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट गर्न र कोषको रकम खर्च भइसकेपछि आवश्यकता अनुसार पुनः सोही कोषबाट रकम माग गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।’ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने।
‘पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य, कृषि तथा भेटेरिनरी र एकीकृत सेवा कार्यालयलाई आफ्नो कार्यक्षेत्रमा तत्काल गर्नुपर्ने काम अघि बढाउन भनिएको छ,’ उनले भने, ‘कार्यालयमा उपलब्ध बजेटबाट काम सुरु गर्ने र बजेट अभाव भए अर्थ मन्त्रालयसमक्ष माग गर्न निर्देशन दिएका छौँ।’‘सडक र भौतिक पूर्वाधारको शीघ्र पुनः सञ्चालन, विस्थापित नागरिकको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सबै पक्षबीच समन्वय भइरहेको उनले बताए । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक र बेँसीसहर–मनाङ सडक सञ्चालनमा ल्याउन संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । उनले भने, ‘चाडपर्वको समयमा नागरिकले थप कठिनाइ भोग्नुनपरोस् भनेर वैकल्पिक मार्ग सञ्चालन गर्ने नीति लिइएको छ ।’
स्वास्थ्य सेवातर्फ मनाङमा आवश्यक औषधिसहित २ जना चिकित्सक र १ जना नर्सलाई हेलिकप्टरमार्फत पठाइएको छ भने प्रदेश मातहतका अस्पतालहरूलाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिईएको छ बाढी र पहिरोका कारण विस्थापित भएका नागरिकलाई तत्काल राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न सुरक्षा निकायहरूलाई परिचालन गरिएको छ । विभिन्न निकायहरूको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ। घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।













