दमौली, नेपाली काँग्रेसमा बिशेष महाधिबेशन र नियमित महाधिबेशनको बहस चल्दै गर्दा नियमित महाधिबेशनको पक्षमा कांग्रेस नेता एबम कार्यकर्ताहरुको उपस्थिति अत्यन्त कम देखिएको भएपानी अहिले नियमित महाधिबेशनको पक्षधरहरुको संख्या बढ्दै गएको छ। तनहुँ कांग्रेसको सिंगो कार्यसमिति तथा महासमिति र महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको वकालत गरि रहँदा नेपाली कांग्रेस तनहुँका जिल्ला कार्यसमिति सदस्य डम्बर अधिकारी भने नियमित महाधिवेशनको पक्षमा उभिएका थिए ।
त्यतिबेला जिल्ला सदस्य अधिकारीलाई उल्टो बाटोमा हिडेको भन्दै धेरैले खिस्युटियुरी देखि आलोचना समेत गरेका थिए । तर, अरुको कुराको कुनै प्रवाह नगरिकन अधिकारी भने निरन्तर रुपमा नियमित महाधिबेशनको पक्षमा अडिग रहेका थिए ।
नियमित महाधिवेशनको पक्षमा अधिकारी उभिएकै बेला पार्टीका पूर्व जिल्ला सचिव प्राडा कृष्णप्रसाद गौतम समेत राष्ट्रिय भेलामा सहभागी भएका थिए । राष्ट्रिय भेलामा काठमाण्डौंमा बस्ने कांग्रेसका अन्य केही नेताहरु समेत सहभागी भएका थिए । राष्ट्रिय भेलामा सहभागी भएसँगै जिल्ला संयोजक तोक्ने विषयमा समेत अधिकारीलाई जिल्ला संयोजकको रुपमा हेरिएको थियो । तर, पूर्व जिल्ला सचिव समेत रहेका गौतमलाई जिल्ला अधिबेशन तयारी समितिको संयोजकको जिम्मेवारी दिईएको थियो ।

गौतमले संयोजकको जिम्मेवारी लिएपछि अधिकारीलाई सहसंयोजक बनाइएको थियो । अधिकारीले सम्पर्क कार्यालयको व्यवस्थापन देखि क्षेत्र तथा जिल्ला तयारी समिति, प्रदेश र स्थानीय तहको संयोजक तोक्नेदेखि क्षेत्रीय र स्थानीय तहको अधिवेशनका क्रममा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
जिल्लामा अधिकारीको अगुवाईमा भएको नियमित महाधिवेशनको पक्षमा अहिले तनहु जिल्लाका बलबहादुर आले, लक्ष्मी आचार्य, टेकबहादुर गुरुङ, महेश्वर भट्टराई, हिरा गुरुङ लगायतका हाइप्रोफाइलका नेताहरु उभिएका छन् । शनिबार मात्रै विपी बिचार मञ्चका केन्द्रीय सदस्य हरिशरण पण्डित र जिल्ला अध्यक्ष प्रताप सिंह अधिकारी र विष्णुकुमार श्रेष्ठ पनि नियमित महाधिवेशनको पक्षमा देखिएका छन् ।
खासगरी नियमित महाधिवेशनको पक्षमा पूर्वमन्त्री गोविन्दराज जोशीसँग निकट रहेका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरु जोडिने क्रम बढेको छ । त्यस्तै कांग्रेससँग असन्तुष्ट हुनपुगेका महेश्वर भट्टराई समेत नियमित महाधिबेशन पक्षधरको समुहमा जोडिएका छन । यसैगरी महाधिवेशनमा पराजित भएर असन्तुष्ट हुन पुगेकाहरु मध्ये केहि नियमित महाधिवेशनको पक्षहरुको अधिबेशनमा सहभागी हुने भएका छन ।














