पोखरा, अबिरल बर्षा र त्यसपछि आएको बाढी र पैर्होका कारण गण्डकी प्रदेशको बिभिन्न जिल्लामा क्षती पुगेको छ बिभिन्न स्थानको सडक अबरुद्ध बनेको छ भने पहिरोले बिभिन्न स्थानमा मानिस सहित घर पुरेको बताइएको छ। गण्डकी प्रदेशको मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ क्षेत्र डुबानमा परेको छ । तालगाउँ क्षेत्र २०७८ सालमा पनि बाढीको कारण बगेको र त्यहाँ केही समयअघि मात्रै पुनः निर्माण सकिएको थियो । अहिले फेरि डुबानमा परेको स्थानीय अगुवा राजन गुरुङले जानकारी दिए ।
नासों गाउँपालिका १ स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थुनिएर जलमग्न भएको हो । अहिले स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ । बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक मार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका गुरुङले बताए । गाउँ चारैतिरबाट घेरिँदा स्थानीयवासी गाउँमै थुनिएका छन् । तालगाउँबासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसिरहेका छन्। विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै जिल्ला पूर्ण रूपमा टेलिफोन सम्पर्कविहीन बनेको छ ।
अविरल परेको वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ । वडा नम्बर ८ फर्से क्षेत्रमा अहिले सम्म २० भन्दा बढी घर बगाइसकेको र यसको रफ्तार बढ्दो क्रममा रहेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिए । ‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो । सय भन्दा बढी घर बगाउने अवस्थामा छ,’ उनले भने, ‘ठुलो क्षति भएको छ ।’
उनका अनुसार कालिगण्डकीको बाढी अझै बस्तीतिर पस्न थालेको छ । मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उनले सुनाए ।बाढीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ । बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठुलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भए तापनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।

बर्षा पछि आएको बाढी र पैर्होका कारण लमजुंगको बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज शनिबार बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन समेत भएको छ
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको पाउदार गिवाङमा पहिरोले घर पुरिएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको हो । घरमा दुई जना रहेको र उनीहरू सम्पर्कमा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मानवीय क्षति यकिन नभएको प्रशासनको भनाई छ । म्याग्दीमा अहिले पनि निरन्तर पानी परिरहेको छ । जसका कारण क्षतिको विवरण सङ्कलन गर्न पनि समस्या परेको स्थानीय पत्रकारहरूले बताएका छन् ।
अविरल वर्षापछि कालीगण्डकी नदीको बहाव अत्यधिक बढेको छ । नदीको बहावले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ। स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ र गुल्मीको पनि कालिगण्डकी गाउँपालिका १ जोड्ने उक्त पुल राती बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए । ‘पुल बगाएको भन्ने खबर आएको छ । हामी त्यहाँ जाँदैछौं,’ उनले भने । उक्त पुल कालिगण्डकी जलविद्युत आयोजनाको नजिकै रहेको बताइएको छ । अन्य क्षतिबारे कुनै विवरण आएको छैन ।

यसैगरी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँच मार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेश मार्गको सम्पर्क विच्छेद भएको छ ।
अविरल वर्षापछि आज कालीगण्डकी नदीमा आएको बाढीको कटानका कारण पुलको नवलपुरतर्फको जगसमेत कटान भएको हुँदा सवारी साधन एवं पैदलयात्रुको समेत आवागमन अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।













