काठमाडौ, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा आन्तरिक राजनीतिक समीकरण तीव्र रूपमा बदलिएको छ। लामो समयदेखि कांग्रेस पूर्वसभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट लाभ र निरन्तर सहयोग लिएका अधिकांश शीर्ष नेता तथा कार्यकर्ताहरू अहिले गुट बदलेर सभापति गगन थापा पक्षमा उभिन थालेका छन ।
यस्तो अवस्थामा पनि पूर्व वनमन्त्री ऐनबहादुर शाही भने देउवा पक्षमै अडिग रहेर कर्णालीमा कांग्रेस संस्थापन इतर पक्षको संगठन जोगाउन निरन्तर दौडधुपमा जुटेका छन् । कांग्रेस बिभाजन भएर प्रजातान्त्रिक कांग्रेस बनेदेखि नै देउवा पक्षमा रहेर राजनीतिमा सक्रिय शाहीले क्षणिक स्वार्थका लागि अहिले निष्ठा नबदल्ने अडान लिएका छन ।
कांग्रेसको १५ औं महाधिबेशन नजिकिंदै गर्दा देउवा पक्षमा रहेर लामो समय देखि सहयोग पाएका नेता कार्यकर्ताहरु एकाएक सामाजिक सञ्जाल मार्फत हामी १५ औ महाधिबेसनमा गगन पक्षलाई सहयोग गर्न तयार छौ भनेर घोषणा गरिरहेको अबस्थामा शाही भने देउवाको बिरासत जोगाउनको लागि सबै नेता तथा कार्यकर्ताहरुसंग समन्वय र सहकार्यमा ब्यस्त देखिएका छन ।
विगत लामो समयदेखि देउवाबाट सहयोग र अवसर प्राप्त गरेका कर्णालीका प्रभावशाली नेताहरू पूर्णबहादुर खड्का, जीवनबहादुर शाही र ललिजङ्ग शाही लगायतका नेताहरूले यतिबेला देउवाको साथ छोडेका छन्। जिल्लास्तरमा पनि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, सभासद खडगबहादुर शाही, पार्टी उपसभापति तथा पूर्ब मेयर हरिजंग शाही, सोरु गाउपालिका उपाध्यक्ष केसरबहादुर शाही लगायत अग्रज नेताहरु गगन थापाको पक्षमा उभिएका छन।
तर, केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देउवाकै कोटाबाट संघीय वनमन्त्री बनेका ऐनबहादुर शाही भने अप्ठ्यारो परिस्थितिमा पनि देउवाकै पक्षमा चट्टानी बनेर एकताका साथ उभिएका छन । कांग्रेस कुनैपनि हालतमा बिभाजन नहोस र एकता भएर जाओस भन्ने पक्षमा उभिंदै आएका शाही देउवा र गगन पक्षमा कांग्रेस विभाजित बन्नपुग्दा पनि देउवाको पुरानो कित्तामै उभिएका छन ।
आफ्नो अडानबारे स्पष्ट पार्दै शाही भन्छन्, “देउवाले मलाई गरेको सहयोग म कहिल्यै बिर्सन सक्दिनँ। हिजो पनि देउवा पक्षमै रहेर राजनीति गरेँ, आज पनि उहाँकै साथमा छु। क्षणिक स्वार्थका लागि देउवा त्यागेर अर्कोतिर लाग्न सक्दिन । जेनजी आन्दोलनमा देउवा दम्पतिमाथि भएको आक्रमण प्रति शाहीले दुःख प्रकट गरेका छन ।
राजनीतिक जीवनमा अनेकौँ दुःख–कष्ट भोगेर यो स्थानसम्म आइपुगेको उल्लेख गर्दै उनले अन्य नेताहरूले कित्ता फेर्दैमा आफू विचलित नहुने स्पष्ट पारेका छन । देउवाबाट सबैभन्दा बढी अवसर र सहयोग पाएकाहरूले नै संकटका वेला साथ छोडेको भन्दै शाहीले असन्तुष्टि समेत व्यक्त गरेका छन। कर्णालीका अधिकांश नेताहरू इतर समूहमा ढल्किँदा शाहीको यो निरन्तरता र सक्रियताले देउवा पक्षको अस्तित्व रक्षा गर्न ठूलो बल पुगेको नेता कार्यक्रताहरुको भनाई छ ।













