पोखरा, पोखरामा फुटबलको पर्याय जस्तै बनेको सहारा क्लब पोखराले हरेक बर्ष दिंदै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पोखराका पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरेको छ । क्लबको २८औँ वार्षिकोत्सव तथा साधारणसभा एवं सहारा पत्रकारिता पुरस्कार वितरण गर्न आयोजित समारोहमा पराजुलीलाई नगद ३० हजार ५ सय रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित उक्त पुरास्कारबाट सम्मान गरिएको हो ।
पराजुलीलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशबहादुर थापा र हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले सम्मान गरे । सोही कार्यक्रममा क्लबका सदस्यहरूमध्येबाट सिद्धान्त थापामगरलाई ‘सहारा उत्कृष्ट सदस्य–२०८२’ बाट सम्मान गरिएको छ । यो अवसरमा क्लबमा आबद्ध सदस्य तथा उनीहरूका परिवारका सदस्यमध्ये कक्षा १२ वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिहरूलाई समेत प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उक्त समारोहमा बोल्दै मन्त्री गुरुङले खेलकुदको विकासमा खेलाडी, खेल संस्था र खेल पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन। उनले खेलकुद क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, खेल संस्था र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै प्रतिभावान् खेलाडी तथा खेलकुद पत्रकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
सोही कार्यक्रममा पोखरा–१०, बुद्धचोक निवासी सञ्जु गुरुङ र उहाँका पतिले सञ्जुकी आमा चित्रकुमारी गुरुङको स्मृतिमा सहारा फुटबल एकेडेमीको सहयोगार्थ ७८ हजार रुपैयाँ क्लबका अध्यक्ष केशवबहादुर थापालाई प्रदान गरे । पोखरा महानगरपालिका–९ को कार्यालयले क्लबलाई कलर प्रिन्टर सहयोग गरेको छ । उक्त प्रिन्टर वडा अध्यक्ष दीपेन्द्र मर्सानीले क्लब अध्यक्ष थापालाई प्रदान गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानी, हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश बहादुर केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, अग्रज पत्रकार नारायण कार्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र पुरस्कृत पत्रकार रोहितराज पराजुलीलगायतले सहारा उत्कृष्ट कार्य गर्दै आएकाले यसको निरन्तरताको कामना गरेका थिए ।













