काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उनले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनअघि असोज ३ र ४ गते वडा तहमा हुने अधिवेशनमा अलमल नगरी उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।
पार्टीभित्र सहमति र संवादको वातावरण निर्माण गर्दै सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै थापाले भनेका छन ‘लोकतन्त्रमा फरक मत स्वाभाविक हो, तर त्यसको समाधान विधि र प्रक्रियाबाट खोजिनुपर्छ’ । पार्टीले २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिसकेको जनाइएको छ । सदस्यता व्यवस्थापन समितिले नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाइसकेको जानकारी दिइएको छ ।
त्यस्तै, भदौ २८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनअघिका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई हालको कार्यसमितिमा समावेश गर्ने निर्णय गरेको छ । यससँगै उनीहरू महाधिवेशनमा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुने स्पष्ट गरिएको छ ।थापाले वडादेखि केन्द्रसम्मको महाधिवेशनलाई “पार्टीलाई एकताबद्ध र सशक्त बनाउने अवसर”का रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै सम्पूर्ण तहका कार्यकर्तालाई सक्रिय सहभागिताको अपिल गरेका छन् ।















