Play

बाढीमा परेका १ सय बढी शव पोखरामा, शव पहिचान गर्न पोखरा आएकालाई होटलमा खानेबस्ने ब्यबस्था

गुरुकुल खबर


पोखरा, रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेर मृत्यु भएकामध्ये तनहुँ, गोरखा, धादिङ र नवलपुरमा नदी किनारमा भेटिएका १ सय २ जनाको शव पोखरा ल्याइएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शव पहिचानका लागि आफन्तले डिस्प्लेमा फोटो सहितको विवरण हेर्ने ब्यबथा मिलाइएको छ । पोखरा ल्याइएका शवहरुको पोष्टमार्टम गर्ने, पहिचानका लागि फोटो खिच्ने, डिजिटलाईज गर्ने र प्राप्त विवरण डिस्प्ले गर्ने काम भइरहेकोले आंफन्तको शव खोज्न र पहिचान गर्न आउनेहरु पिडितहरुको चाप समेत बढ्दै गएको छ   ।

शव पहिचान गर्न पोखरा आइपुगेका मध्ये ४७ जनालाई पोखराको विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले गुरुकुल खबरलाई जानकारी दिए जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडका बिभिन्न होटलहरुमा उनीहरुको खाना र बस्ने प्रबन्ध गरिएको हो । रसुवामा १० भदौमा आएको बाढीले बगाएपछि त्रिशूली नदी किनारमा फेला परेका शवहरु पहिचानका लागि उनीहरु पोखरा आएका हुन् ।

शवको पहिचानको लागि नेपाल प्रहरीको वेबसाइटमा रहेको क्यूआर कोडमा फोटोसहित अन्दाजी उमेर, शव भेटिएको स्थान र हाल शव राखिएको स्थानसहितको विवरण राखिएको छ  पोखरामा ल्याईएका शव पनि हिलाम्मे रहेकोमा तिनलाई धोएर, फोटो खिचेर ठूलो स्क्रिनमा देखाउने क्रम जारी छ ।’ यसबाहेक शवहरुको डीएनए परीक्षणका लागि नमुना संकलन भइरहेको छ । आँफन्तले सजिलै शवको पहिचान गर्न नसकेमा त्यसका लागि डिएनए गर्नुपर्ने ब्यबस्था अनुसार नमुना संकलन गरिएको हो ।

‘शव पहिचान गर्न टाढाबाट आएका पीडित परिवारलाई कठिन नहोस् भनेर हामीले बिभिन्न होटलमा बस्ने व्यवस्था मिलाएका हौं,’ कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवीन कार्कीले भने । बाढीले बगाएका शवहरु क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचानमा केही समय लागेको बताइएको छ । अस्पतालमा रहेका शवहरुको कानुनी प्रक्रिया र सनाखत पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

पोखरामा ल्याइएका शवको पहिचान र पोष्टमार्टम गर्ने क्रममा २० वटा शवको पोष्टमार्टम सकिएको सहायक प्रजिअ बरालले बताए । ५७ जनाको मुचुल्काको काम सकिएको र आज शनिबार बिहान ९ बजेदेखि पोष्टमार्टम गरिने भएको छ ।

यसैबीच धादिङ जिल्लामा फेला पारेर पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा ल्याएको ट्याग नम्बर ७ को शव आफन्तले पहिचान गरेका छन । भक्तपुर नगरपालिका ९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापतिको शव उनका भाइ सत्यकृष्ण प्रजापतिले पहिचान गरेको प्रशासनले जनाएको छ । यसबाहेक अन्य २ जनाको पनि पहिचान भइसकेकाले आज शनिबार आबश्यक प्रक्रिया मिलाएर आफन्तको जिम्मा लगाइने भएको छ।

पोखरामा ८८ वटा शव मात्र ब्यबस्थापन गर्न मिल्ने ठाउँ रहेपनि क्षमताभन्दा बढी शव आएपछि ब्यबस्थापनमा कठिनाई उत्पन्न भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार पोखरामा आएका १०२ शव मध्ये पनि केही बच्चा र केहीको कतिपय पूर्ण शरीर नभई अंगहरू मात्र रहेकाले मिलाएर राखिएको छ तर अब पोखरामा थप शव व्यवस्थापन गर्न समस्या हुन्छ ।

पोखरा स्वास्थ्य विज्ञानमा थलो संख्यामा शव ब्यबथापन गरिएको र यस बाहेक मणिपाल शिक्षण अस्पतालमा ९, फुलबारीस्थित आर्मी हस्पिटलमा ४, प्रदेश अस्पताल पोखरा, गण्डकी मेडिकल कलेज, पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पतालमा २/२ वटा शव व्यवस्थापन गरिएको छ ।

१३ भाद्र २०८३, शनिबार ०७:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा