पोखरा, रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण मृत्यु भएका मध्ये हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार आज शुक्रबार दिउँसो ३ बजेसम्ममा ५४७ वटा शव फेला परेको हो।
जसअनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी चितवनमा २२१ शव भेटिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ४ हजार ४७३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। तीमध्ये १ जना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बाढीबाट घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या १ हजार ४७३ पुगेको छ। जसमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भइसकेका घाइतेहरूको सङ्ख्या ९४ रहेको छ।
बाढीका कारण बेपता भएकाहरुको संख्या एकिन नभएपनि करिब १२ हजार जना आँफन्त सम्पर्क बिहीन भएको भन्दै बिभिन्न व्यक्तिहरुले फारम भरेर खोजीको लागि आग्रह गरेको बुझिएको छ। यो संख्या दोहोरिएको वा डुप्लिकेसन भएको समेत हुनसक्ने भएको भन्दै नेपाल टेलिकम र एनसेलका प्राबिधिकहरुले टेलिफोन नम्बरको लोकेसन ट्रयाक गरेर पनि संख्या पट्ट लगाउने प्रयास गरिरहेको छन ।













