पोखरा, रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको जनधनको क्षतिको पुरा विवरण आउन अजाही केहि समय लाग्ने भएपानी बिहिबार बेलुकासम्म बाढी र पहिरोका कारण मृत्यु हुनेहरु मध्ये ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्बजनिक गरेको विवरण अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढीका कारण हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएकोमा रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन्। आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ८ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण १८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताहरूको खोजी जारी राखेको छ।
यसैबीच रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीका कारण मृत्यु भएका १ सय ३४ जनाको शव गण्डकी प्रदेश अन्तर्गत तनहुँ, गोरखा र नवलपुरमा फेला परेको छ । त्रिशूली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहीबार भेटिएको नेपाल प्रहरीले जनाएको छ जसअनुसार नवलपुरमा ८२, गोरखामा ३० र तनहुँमा २२ जनाको शव भेटिएको र ति जिल्लाहरुमा शवगृहको अभावका कारण पोखरा ल्याउने क्रम चलिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्रांगत बरालले जानकारी दिएका छन ।
गोरखा र तनहुँमा भेटिएका २० वटा शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ । तनहुँमा भेटिएका शवहरु तनहुँ जिल्ला अस्पताल, जिपी कोइराला मेमोरियल अस्पताल र चितवनमा समेत ब्यबस्थापन गरिएको छ। गोरखा र नवलपुरमा भेटिएका शव पोखरा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । त्रिशूलीका तटीय क्षेत्रमा भेटिएका शव व्यवस्थापनमै सकस परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा जतिसक्दो धेरै शव व्यवस्थापनको तयारीमा लागेको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव राख्ने व्यवस्था मिलाइएको छ भने यहाँका अन्य निजी अस्पतालहरूमा पनि क्षमताअनुसार शव राख्ने तयारी भइरहेको प्रवक्ता बरालले बताए । गृह मन्त्रालयकै समन्वय र शव व्यवस्थापन कार्यविधिअनुसार अन्य जिल्लामा क्षमता कम भएकाले पोखरा ल्याउन लागिएको उनले जानकारी दिए । पोखरामा तत्कालका लागि विभिन्न अस्पतालमा गरी ७२ शव राख्ने क्षमता रहेको उनले जानकारी दिए । उनका अनुसार पश्चिामाञ्चल क्षेत्रिय अस्पतालमा ७२ शव राख्ने क्षमता भएपनि तत्कालका लागि ५० शव व्यवस्थापन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
यस्तै मणिपाल शिक्षण अस्पतालमा ८, फूलबारीस्थित आर्मी हस्पिटलमा ४, प्रदेश अस्पताल पोखरा, गण्डकी मेडिकल कलेज, पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पतालमा २/२ शव राख्ने गरी व्यस्थापन गरिएको प्रवक्ता बरालले जानकारी दिए ।















