पोखरा, तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारमा बसोबास गर्नेहरुले ठुलो जनधनको क्षती व्यहोर्नु परेको छ। भोटेकोशी र त्रिशुली नदी किनारको बजार क्षेत्र र बस्ती बाढीको कारण ध्वस्त भएको छ भने बिधुत टेलिफोन पिउने पानी, सडक सहित बिभिन्न निजि र सरकारी संरचनामा पनि अकल्पनीय क्षती पुगेको छ ।
यस किसिमको आकस्मिक बिपदमा विशेषगरी अपाङ्गता भएका व्यक्ति, असहाय तथा ज्येष्ठ नागरिक, महिला र बालबालिकाहरुले अझ बढी जोखिम र कष्ट भोग्नुपर्ने हुन्छ। यही संवेदनशीलतालाई आत्मसात गर्दै अपांगता भएका व्यक्तिहरुको सक्रियतामा स्थापित सुस्केरा फाउन्डेसन नेपालले विपद् प्रभावित तथा जोखिममा रहेका परिवारहरूलाई राहत तथा सहयोग पुर्याउनको लागि सहयोग संकलन अभियान सुरु गरेको छ।
श्रवणसम्बन्धी अपाङ्गता भएकी गण्डकी प्रदेशकी सांसद संस्थापक रहेको सुस्केरा फाउन्डेसनले यस पटकको आकस्मिक विपदमा परेका अपाङ्गता भएका व्यक्ति तथा अन्य अशक्तहरुको लागि मानवीय सहयोग गर्न सहयोग संकलन अभियान शुरु गरेको हो।
कोभिड–१९ महामारीका समयमा सुस्केरा फाउन्डेसनले करिब ३ सय घरपरिवारलाई राहत सामग्री वितरण गरेर सहयोग गरेकोमा यसपटक पनि प्राकृतिक विपदबाट प्रभावित तथा उच्च जोखिममा रहेका नागरिकसम्म सहयोग पुर्याउनको लागि भन्दै सहयोग संकलन अभियान सुरु गरिएको प्रदेश सांसद समेत रहेकी थापाले गुरुकुल खबरलाई बताइन ।

अभियानको सुरुवात उनले एक महिनाको तलब भत्ता बापत आउने रकमस सुसेरा फाउन्डेसनको कोषमा दिने जानकारी गराएकी छन । सुस्केरा फाउन्डेसनका सह-संस्थापक सुवास पाठकले पनि व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गर्ने भएका छन। ‘विपद्को समयमा सहयोगका लागि ठूलो रकम वा ठूलो संस्था नै चाहिन्छ भन्ने होइन, आफूले सक्ने सानो सहयोग कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ’ भन्ने मान्यताको आधारमा साथ सुस्केरा फाउन्डेसनले सहयोग संकलन अभियान अघि बढाएको थापाले स्पष्ट पारेकी छन ।
उनले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आफ्नो क्षमताअनुसार यस मानवीय अभियानमा जोडिन आग्रह गर्दै एउटा परिवारको आँसु पुछ्न, एउटा बालबालिकाको आशा बचाउन, एउटा ज्येष्ठ नागरिकलाई सहारा दिन वा अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित महसुस गराउन सहयोग आबश्यक रहेको उल्लेख गरेकी छन ।
यसैबीच, गण्डकी प्रदेश सांसद सुनिता थापाका अनुसार दृष्टिविहिन शिक्षक प्रतिमा लामालाई स्याफ्रुवेसीबाट उद्धार गर्नुपर्ने भएको छ लामाले आँफुलाई चांडो भन्दा चांडो उद्धार गरिदिन आग्रह गर्दै सन्देश पठाएको छन। उक्त सन्देशमा ‘बाढीकाे कारण आंफ्नो क्षेत्रमा ठुलो क्षती पुगेकाे साथै बिधुत आपुर्ती समेत बन्द भएकोले माेवाइल पनि स्विच अफ हुन सक्ने भन्दै तत्काल उद्वार गरिदिन’ आग्रह गरेकी छन।














