Play

तिब्बतबाट आएको बाढीले नुवाकोट र रसुवामा अपूर्व क्षती, भोटेकोशी र त्रिशुली किनारका बजार र बस्ति ध्वस्त

गुरुकुल खबर


काठमाडौँ, चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि नेपालको बिभिन्न जिल्लामा अकल्पनीय क्षती भएको छक भोटेकोशी र त्रिशुली तटीय क्षेत्रमा ठुलो क्षतीको सम्भावनाका कारंत्यास क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग सहित बिभिन्न निकायले आग्रह गरिरहेका छन । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तिब्बततर्फबाट भोटेकोशी नदीमा ठुलो बाढी प्रवेश गरेको र रसुवा, नुवाकोट धादिंग हुँदै तल पुगिसकेको र यसले माथिल्लो क्षेत्रमा ठुलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताए ।

पराजुलीले विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रहरूलाई उच्च जोखिमको सूचीमा राखेको जानकारी दिए । विशेष गरी त्रिशूली नदी र मर्स्याङ्दीको दोभान (मुग्लिन) सम्मको क्षेत्रलाई अति उच्च जोखिम मानिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको उनले बिहान १० बजे बताएका थिए बाढीको जोखिमलाई मध्यनजर गर्दै विभागले पृथ्वी राजमार्ग र त्रिशूली नदी किनारका अन्य कोरिडोर राजमार्गहरूमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिएको छ।

नदी किनारका बस्ती, घर र कृषि क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा जान पनि आग्रह गरिएको पराजुलीले बताए ।  त्रिशूलीमा पानीको सतह बढ्दा तादी, बुढीगण्डकी र मलेखु लगायतका सहायक नदीहरूमा पनि पानी फर्किने हुनसक्ने भएकाले ती क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको उनको भनाइ छ ।  यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशङ्का गरिएको छ। यसबारे थप जानकारीका लागि चिनियाँ अधिकारीहरूसँग समन्वय र उपग्रहबाट अध्ययन भइरहेको पराजुलीले जानकारी दिए ।

रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशूली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा परेपछि प्रशासनले धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ।  धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीले गल्छीमा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। बाढीको सतह निरन्तर बढ्दै गएकाले मलेखु र गल्छी क्षेत्रका खोला किनारमा रहेका बस्तीहरूलाई प्राथमिकताका साथ खाली गराउन थालिएको छ।

मानवीय क्षति हुन नदिन सुरक्षा निकायका सबै टोलीहरू फिल्डमै खटिएका छन्। बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनहरूलाई पनि सुरक्षित स्थानमा होल्ड गरिएको छ। राजमार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गाडीहरूलाई अगाडि बढ्न रोक लगाइएको प्रशासनले जनाएको छ।  खोला किनारका जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। विशेष गरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीहरू बढी जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

आकस्मिक बाढीले रसुवाको जलविद्युत क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण रसुवास्थित प्रमुख जलविद्युत आयोजनाहरू र प्रसारण लाइनमा गम्भीर क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिएको छ ।  प्राधिकरणका अनुसार बाढीले रसुवामा रहेका देहायका उत्पादन, प्रसारण र वितरण संरचनामा ठुलो भौतिक क्षति पुर्‍याएको छ ।

बाढीले रसुवागढी जलविद्युत आयोजना, चिलिमे जलविद्युत केन्द्र, त्रिशूली ३ ए र त्रिशूली ३ बी हब २२० के.भी.सबस्टेशन र त्रिशूली र देवीघाट जलविद्युत केन्द्रमा ठुलो क्षति पुगेको अनुमान प्राधिकरणले गरेको छ ।  विद्युत् आयोजना र प्रसारण लाइनका संरचनाहरू क्षतिग्रस्त भएसँगै ती क्षेत्रबाट हुने विद्युत् उत्पादन र प्रसारण पूर्ण रूपमा ठप्प भएको छ । प्राधिकरणले बाढीका कारण घर, सडक, पुल र अन्य भौतिक पूर्वाधारका साथै विद्युतका संरचनामा अपूरणीय क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ ।

रसुवाको सीमा क्षेत्रबाट आएको ठुलो बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शम्भु प्रसाद रेग्मीले तटीय क्षेत्रका बजारहरूमा बाढी पसेर ठुलो नोक्सानी गरेको बताएका छन्। रेग्मीका अनुसार बाढीले रसुवाको बोर्डरदेखि नै क्षति पुर्‍याउन सुरु गरेको थियो। ‘मानवीय क्षतिको अहिलेसम्म केही सुन्नमा आएको छैन, तर भौतिक संरचनाहरूमा ठुलो क्षति भएको छ,’ उनले भने, ‘बाढी बजार एरिया भित्रै छिरेकाले तटीय क्षेत्रमा बढी असर परेको छ।’

बाढीले नुवाकोटका बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट जस्ता मुख्य बजार क्षेत्रमा क्षति पुर्‍याएको छ। सुरक्षाकर्मीले दिएको रिपोर्टिङ अनुसार ती क्षेत्रमा बाढीले संरचनाहरू भत्काएको भए पनि क्षतिको यकिन विवरण भने आइसकेको छैन।

रसुवामा अचानक आएको ठुलो बाढीले रसुवा भन्सारसँग सम्पर्क हुन सकेन । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार भन्सार कार्यालयमा अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको बताए । उनले भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी आएको छ तर भन्सार कार्यालयको अवस्थाका विषय कुनै जानकारी नभएको बताए ।  उनले भने,‘ हामी भन्सार कार्यालयको अवस्थाका विषयमा जानकारी लिने कोशिस गरिरहेका छौँ । महानिर्देशक ज्यू विपत् प्राधिकरणको बैठकमा जानु भएको छ । त्यहाँबाट केही विषय जानकारीमा आउँला ।

यसैबीच रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका स्थानीयहरू उद्धारको पर्खाइमा बसेका छन् ।  वडा सदस्य पेमा दोर्जे घलेका अनुसार अहिले टिमुरेका ३ सय बढी स्थानीयहरू उद्धारको पखाईमा रहेका छन् । टिमुरे क्षेत्रको बजार र बस्तिको संरचना सबै बाढीले ध्वस्त बनाएको छ। कहाँ कति क्षति भयो भन्ने अनुमान समेत गर्न सकिने अबस्था छैन ।

‘हेलिकप्टरबाट हुन्छ की केबाट हुन्छ हाम्रो उद्धारको लागि पहल गरिदिनुपरो । यहाँ खाना पनि छैन, लुगा पनि छैन । बिहानै अलि उचाइको समथर भूभागमा आउनेहरू बाँचेका छन । जनधनको क्षतिको हिसाब नै छैन,’ वडा सदस्य  घलेले भने ।

यसैबीच  चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई रोक लगाइएको छ।  बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा क्षति पुग्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका नागढुंगा र भीमढुंगा नाकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सम्पूर्ण सवारीसाधनलाई उपत्यकाभित्रै रोकेको छ।

त्रिशूली नदीमा बाढी :  फुर्के केन्द्रमा जनसतहले नाघ्यो सतर्कता तह

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ र यो अझै बढ्दो क्रममा रहेको छ। नदीमा जलसतह लगातार बढेपछि महाशाखाले नदी आसपासका डुबान जोखिम क्षेत्रमा बसोबास गर्ने बासिन्दा तथा सो करिडोर भएर यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  बुधबार बिहान ११ : २६ बजे महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी फुर्के जलमापन केन्द्रमा जनसतहले सतर्कता तह पार गरेको छ।’

मेडिकल टिम बोकेर सेनाको हेलिकप्टर बाढी प्रभावित क्षेत्रतर्फ

नेपाली सेनाको एआई–१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार हेलिकप्टर मेडिकल टिमसहित जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको हो । बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल टिम परिचालन गरिएको हो । यसैगरी, धुन्चे र त्रिशूलीबाट उद्धार टोलीसमेत परिचालन गरिएको सेनाले जनाएको छ। यसअघि नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि परिचालन भइसकेका थिए ।

१० भाद्र २०८३, बुधबार १२:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा