पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण सुरु गरिएको छ । मोदी खोलामा आएको बाढीले करिब ३/४ सय मिटर सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएकोमा नेपाली सेनाको परिचालन गरेर सडक पुनर्निर्माण गरिन लागेको हो।
सडक पुनर्निर्माणका लागि नेपाली सेनाको एक सय जनशक्ति परिचालन गर्ने भएको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ । गाउँपालिकाले जेसिबी र ढुङ्गा उपलब्ध गराउने तयारी गरेको उनले जानकारी दिए ।

‘बाढीले सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । चाडपर्व र पर्यटकीय मौसम सुरु हुन लागेकाले स्थानीय बासिन्दा एबम त्यस क्षेत्रमा घुम्न जाने स्वदेशी र बिदेशी पर्यटकहरुलाई दृष्टिगत गर्दै तत्काल मर्मतको काम अघि बढाएका हौँ । आज देखि सडक पुनर्निर्माणको काम सुरु हुन्छ । यसमा प्रदेश सरकार र नेपाली सेनाको महत्वपूर्ण सहयोग रहनेछ।’ अध्यक्ष केसीले गुरुकुल खबरसंग भने ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनर्निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । वीरेठाँटी घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर जाने प्रमुख प्रवेश मार्गको रुपमा रहेको उक्त सडक वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गको रुपमा पनि परिचित छ ।















