पोखरा, पोखराको युनाइटेड किड्स क्लबले यहि मंसिर ९ अर्थात आज देखि मङ्सिर १५ गतेसम्म पोखरा रंगशालामा ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ संचालन गर्दै छ । राष्ट्रियस्तरमा पुरुष भलिबल खेलको विकास, विस्तार र प्रबर्द्दन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुने टिमका खेलाडीहरु पोखरा आइसकेको बताइएको छ।
प्रतियोगितामा उपाधिका लागि देशका ६ उत्कृष्ट टोलीबिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । जसमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लब (सशस्त्र प्रहरी बल) सहित गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र किङ्स पोखरा भलिबल क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको प्रथम हुने टोलीले ४ लाख रुपैयाँ, द्वितीयले २ लाख ५० हजार रुपैयाँ, तृतीयले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए । त्यसैगरी, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगितामा खेलाडी व्यवस्थापन, आवास, भोजन, यातायात, पुरस्कार, खेल मैदान तथा प्राविधिक लगायतका सम्पूर्ण व्यवस्थापन आयोजक स्वयंले गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले बताए । दर्शकका लागि सबै खेल अवलोकन गर्न मिल्ने सिजनल पास २ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइएको उनले सुनाए । प्रतियोगिता सञ्चालनका लागि ६० लाख ९५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।














