पोखरा, काठमाडौँमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले आंफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ वटा शाखाको आयोजनामा बिभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ७ गते सम्पन्न रक्तदानबाट कुल ७ सय १३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रगत अभाव भएका बिरामीको उपचारमा सघाउ पुगोस भन्ने उद्देश्यका साथ रक्तदान गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यका अनुसार हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदानसहित विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो। मङ्सिर ७ गते आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

काठमाडौँको बालुवाटारस्थित केन्द्रीय कार्यालय सहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ र स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रह्यो ।वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । बैंकले शाखाहरूबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सेवा प्रवाह, कार्यसम्पादन र संस्थागत लक्ष्य प्राप्तिमा उत्कृष्ट योगदान पुर्याउने कार्यालयहरूको मूल्यांकनका आधारमा सम्मान गरेको हो।
यसैगरी मंसिर ५ गते बैंकले काठमाडौँमा रेश्रो संस्करणको गरिमा रोड रेस – २०८३ पनि सम्पन्न गरेको जनाएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ नारासहित भएको दौडमा १ हजार ४ सयभन्दा बढी धावक सहभागी थिए । शारीरिक सक्रियता र खेलकुदप्रति आकर्षण बढाउन आयोजित प्रतियोगिताले सकारात्मक सामाजिक सन्देश दिएको बैंकको विश्वास छ ।
यसैबीच गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा सडक दौड २०८३’ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ मंसिर ५ गते शनिबार आयोजित प्रतियोगितामा १ हजार ४ सयभन्दा बढी धावक सहभागी भएका थिए । बैंकको १८औँ वार्षिकोत्सवदेखि सुरु गरिएको सडक दौड प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै चारवटा प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

खुलातर्फ पुरुषको १० किलोमिटर दौड ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन प्रथम भए । त्यस्तै, महिलातर्फ १० किलोमिटर दूरी ३९ मिनेट ५४ सेकेन्डमा पार गर्दै राज्य रावलले पहिलो स्थान हासिल गरिन् । यसैगरी, कर्पोरेटतर्फ पुरुषको पाँच किलोमिटर दौड १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी प्रथम भए भने महिलातर्फ पाँच किलोमिटर दूरी २६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै दिव्या विष्ट पहिलो भइन् ।
प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेटतर्फ क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । विजेता तथा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई नगद पुरस्कारसँगै पदक र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा आएर सम्पन्न भएको थियो । त्यस्तै, कर्पोरेटतर्फको पाँच किलोमिटर दौड बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई नारायणगोपाल चोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै आएर टुंगिएको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष दिलीपप्रताप खाँण, सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक, सेयरधनी, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तित्व, स्थानीय तहका प्रतिनिधि, पत्रकार र बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । बैंकले आफ्नो २०औँ वार्षिकोत्सवका अवसरमा मंसिर ७ गते सोमबार देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
साथै, वार्षिकोत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमसमेत सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यले जानकारी दिए । स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले सम्पूर्ण सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार जगत, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।














