पोखरा, पोखरा महानगरपालिका -१४ र २६ को बिचमा पर्ने विजयपुर खोलाको सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकैबाट खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई बालकमध्ये एक बालकको शव फेला परेको छ । पोखरा – १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो भेटिएको भएपनि उनीसंगै बगेर बेपत्ता भएका १५ वर्षीय ओमन राईको अवस्था भने अझै अज्ञात छ ।
पुरानो घर स्याङ्गजा भएपनि पोखरा -१४ मा बस्दै आएका गुरुङको शव उनका हजुरबुवा फत्तबहादुर गुरुङले पहिचान गरेका थिए । खोटांग घर भई पोखरा- १४ चाउथेमा डेरा गरी बस्ने राईलाई पनि गुरुङसंगै साउन ३० गते विजयपुर खोलाले क्रममा बगाएको थियो । ३ दिन देखि निरन्तर खोजी भैरहेको भएपनि गुरुङको शव भेटिएको तर राईको खोजि जारी रहेको प्रहरीले जनाएको छ । विजयपुर खोलाको गहिरो खोंचमा शव अड्किएकाले निकाल्न निकै प्रयास गर्नुपरेको उद्वारमा खटिएका सुरक्षाकर्मीको भनाई छ ।
गुरुङको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा शव देखिएको थियो । भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बेपत्ता भएका उनीहरुको खोजीमा सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खटिएको थियो । नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा ११ जनाको टोलीले रोप रेस्क्यु विधि प्रयोग गरी खोजी गरेको थियो । सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर थापा र सहायक हवल्दार किरण सुवेदी ६० देखि ७० मिटर तल खोचमा पुगेर खोजी गरेका थिए ।
यसैगरी नेपाल प्रहरी र नेपाली सेना पनि खोजी कार्यमा जुटेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवान नेतृत्वको ७ जनाको टोली र नेपाली सेनाका क्याप्टेन उमंग श्रेष्ठको कमाण्डमा ७ जनाको टोली पनि खोजीमा संलग्न थियो । पोखरा १४ की वडा सदस्य तनुजा थापा सीकेको रोहवरमा ड्रोन समेत प्रयोग गरेर खोजी गरिएको थियो ।
यस अगाडी कास्कीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पनि घटनास्थलको निरिक्षण गरेका थिए । सेनाका उपसेनानी प्रमोद केसीको कमाण्डमा ९ जनाको टोली र इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको टोलीले पनि बेपत्ता बालकहरुको खोजी जारी राखेका थिए ।















