काठमाडौं, नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनालाई गैरकानुनी गिरफ्तारी भन्दै त्यसको निन्दा गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुँदाहुँदै त्रसित पार्ने उद्धेश्यले गरिएको दमनकारी व्यवहारको निन्दा गर्ने बताए ।
“जुन किसिमको धरपकड गरेको कुरा बाहिर आएको छ, दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुन्छ, प्रेस काउन्सिल छ, कानुनसम्मत प्रक्रियाहरू छन् । त्यो प्रक्रियालाई पर राखेर, त्रसित पार्ने, नागरिक स्वत स्वतन्त्रता कुण्ठित पार्ने, प्रेसको घाँटी निमोठ्ने जुन किसिमको दमनकारी व्यवहार सत्ताबाट भएको छ, त्यो स्वीकार्य छैन,” उनले भने । यसले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतालाई हनन पुग्ने र जनताको वाणी अवरुद्ध हुने उनको भनाइ छ ।
कांग्रेस हमेसा स्वतन्त्रताको पक्षमा उभिएको पार्टी भएको हुनाले वाक तथा प्रकाशन स्वतन्त्रताको पक्षमा बैठकले धारणा राखेको छ । गैरकानुनी गिरफ्तारीको निन्दा गर्दछौँ” पार्टीको केन्द्रीय समितिको बैठकपछि जारी गरिएको बिज्ञप्तीमा जनाइएको छ ।
यस्तै, कांग्रेसले सत्तारूढ सांसद खगेन्द्र सुनार र आईजीपीबीच बुधबार सार्वजनिक लेखा समितिमा भएको वादप्रतिवादबारे पनि ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता चालिसेका अनुसार, बैठकमा सत्तारूढ सांसदबाट असंसदीय, अमर्यादित भाषा प्रयोग भएको र त्यसमा कांग्रेसका गम्भीर असहमति रहेको बताए ।
“सदनमा अमर्यादित र अशोभनीय भाषालाई न्यायिक निकायबाट निरुपण गर्नुपर्नेमा, जुन खालको व्यवहार देखिएको छ, त्यसले शोभा दिँदैन,” उनले भने । कांग्रेसले आफ्ना सांसदलाई लोकतन्त्रको उच्चतम मूल्यमान्यता र आचरण देखाउन निर्देशन दिएको पनि उनले बताए ।
यस्तै, रोल्पामा गएको पहिरोबाट मृत्यु भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ताको खोजीकार्य छिटो गर्न र राहत उपलब्ध गराउन कांग्रेसले माग गरेको छ । गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठक भने शुक्रबार पनि चल्ने चालिसेले जानकारी दिए ।
बैठकमा सभापति गगन कुमार थापाले लामो समयपछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्दै स्वास्थ्यलाभको कामना समेत गरेका थिए। उनले देउवाले निबर्अतमान सभापतिको रुपमा अभिभावकिय भूमिकामा निर्बाह गर्ने बताए।

















