पोखरा, गीताञ्जली साहित्य परिवार पोखराले शनिबार आयोजना गरेको २० औं साधारण सभा तथा १० औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि कार्यसमितिका केहि पदमा भदौ ६ गते निर्बाचन हुने भएको छ। कार्यसमितिको अध्यक्ष र उपाध्यक्ष पदमा सहमति कायम हुन नसकेपछि भदौ ६ गतेको लागि निर्वाचनको मिति तोकिएको हो ।
निर्वाचन समितिका संयोजक कल्याण पन्तका अनुसार अन्य पदमा एकल उमेदवारी परेको भएपनि अध्यक्ष र उपाध्यक्ष पदमा सहमती हुन नसकेकोले निर्वाचनको तयारी भइरहेको छ । कार्यक्रममा संस्थाका सचिव नरेन्द्र रानाभाट र कोषाध्यक्ष वसन्तराज चालिसेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो ।
साधारण सभा तथा अधिवेशनको अन्बसरमा विभिन्न साहित्यकारलाई पुरस्कृत र सम्मानित गरिएको छ । जस अनुसार साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ लाई गीताञ्जली राई साहित्य रत्न र पार्वती भट्टलाई रुक्मिणा नारायणदत्त साहित्य पुरस्कार प्रदान गरिएको छ । लमजुङमा जन्मेर पोखरा बस्दै आएकी सरु र डोटी घर भई हाल काठमाडौं बस्ने भट्टलाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यी पुरस्कार दिइएको हो। दुवै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ छ ।
यसैगरी कार्यक्रममा साहित्यिक कार्यक्रममा सहभागी प्रमिला सुनारले तुलसी मुवा अहिल्या बाल साहित्य पुरस्कार र अन्वेषा ज्ञवालीलाई गीताञ्जली बाल साहित्य पुरस्कार अर्पण गरिएको थियो । संस्थाले साहित्यमा क्रियाशील विष्णुप्रसाद पराजुली र गोविन्दप्रसाद पराजुलीलाई स्रष्टा सम्मान प्रदान गर्नुको साथै डा. कृष्ण भण्डारी मुमुक्षु र शिवप्रसाद गौतमलाई संस्थाको आजीवन संरक्षकका रुपमा सम्मान गरिएको छ ।
साहित्यकार असफल गौतमको संयोजकत्वमा गठित समितिले उल्लिखित प्रतिभाहरुको छनोट गरेको हो । समितिमा शिवप्रसाद गौतम र लक्ष्मी थापा सदस्य थिए । रुना साहित्य पुरस्कार कोषका संस्थापक मुक्तकमणि तीर्थराज अधिकारीले आइतबार कोषमा थप १ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । बालसाहित्य पुरस्कार भने साहित्यकार तिलक पौडेलले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गरेका हुन् ।
अधिबेशन वा साधारणसभाका प्रमुख अतिथि डा. कृष्ण भण्डारी मुमुक्षुले लामो समयदेखि साहित्य कर्ममा लागेका व्यक्तिहरुको सक्रियताले संस्था टिकेको बताए । ‘यो संस्थाले अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गरेको छ,’ उनले भने । उनले संस्थाको थप सफलताको कामना समेत गरे । संस्थाका अध्यक्ष भानु भण्डारी क्षितिजले संस्थालाई उचाइमा पुर्याउन आफूले सक्दो मेहनत गरेको बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको बारेमा असफल गौतम र चन्द्रावती वाग्लेले परिचय गराएका थिए । कार्यक्रममा प्रमिला सुनार, अन्वेषा ज्ञवाली र बलराम तिमिल्सिनाले आफ्ना रचना वाचन गरे । साहित्यिक जमघटमा माधव वियोगी, प्रेमकुमार उलक, तीर्थराज अधिकारी, कृष्ण प्रसाद बास्तोला, भरत कोइराला लगायतले शुभकामना मन्तव्य दिंदै पोखराको साहित्यिक विकासमा गीताञ्जली साहित्य परिवारले खेलेको भूमिकाको चर्चा गरे । कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र रानाभाट र स्वागत वरिष्ठ उपाध्यक्ष धर्मराज अल्पायुले गरेका थिए ।















