Play

कांग्रेसको संस्थापन इतर समुहले राष्ट्रिय भेला गर्ने, ५५१ सदस्य रहेको मूलसमिति र १६ वटा उपसमिति गठन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको बिशेष महाधिबेशनको बिपक्षमा रहेको पक्षले राष्ट्रिय भेलाका लागि डा शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूलआयोजक समिति बनाएको छ। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त समितिको घोषणा गरिएको हो। राष्ट्रिय भेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न १६ वटा उपसमितिहरू समेत बनाइएको सार्वजनिक भएको छ। मूल आयोजक समितिमा १४ औं महाधिवेशनबाट चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यहरू समेटिएका छन्। यसमा प्रदेश सभापति, जिल्ला सभापति र महानगर तथा नगर सभापतिहरूलाई पनि राखिएको छ।

पत्रकार सम्मेलनमा संयोजक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको दाबी गरे । पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन २९–३१ साउनमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिएको कोइरालाको भनाइ थियो। नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भूमरीमा रुमल्लिएको उल्लेख गर्दै उनले त्यसको प्रत्यक्ष असर कांग्रेसमा परेको जिकिर गरे ।

२४ भदौ २०८२ को हिंसात्मक घटनामा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै कोइरालाले संकटका बेला एकताको आवश्यकता भए पनि हुन नसकेको बताए । ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ कोइरालाले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका निबर्तमान प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले संघीय र प्रदेश सांसद, पूर्वमन्त्री र भ्रातृ संस्थाका प्रमुखहरू पदेन सदस्यका रूपमा रहने जानकारी दिए। उपत्यका भित्रका जिल्ला कार्यसमिति पदाधिकारी पनि समितिमा राखिएको उनको भनाई थियो।

भेलालाई नीतिगत रूपमा सफल बनाउन विभिन्न विषयगत टोलीहरू खटिने छन्। यस अन्तर्गत राजनीतिक प्रस्ताव तयारी, सांगठनिक प्रस्ताव तयारी र विधान संशोधन मस्यौदा समितिहरू बनेका छन्। भेलाका लागि आर्थिक नीति तयार गर्न पनि छुट्टै समिति गठन गरिएको छ। भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भएपनि १४ औं महाधिवेशनमा देउवासँग प्रतिष्पर्धा गरेका नेता डा. शेखर कोइराला भने अनुपस्थित थिए ।

उनको अनुपस्थितिका बारेमा पत्रकार सम्मेलनमा पत्रकारहरूले जिज्ञासा राखेका थिए । जवाफमा संयोजक डा. कोइरालाले आँफुहरुको यस  अभियानमा डा. शेखरको पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसकेपनि ऐक्यबद्धता जनाएको जानकारी दिए ।

भेलाको व्यवस्थापकीय पाटो हेर्न प्रचार-प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन र मञ्च व्यवस्थापन समितिहरू क्रियाशील हुने छन्। स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति सुरक्षा र प्रशासन समन्वयका लागि पनि छुट्टाछुट्टै समिति बनेका छन्। सचिवालय व्यवस्थापन, सांस्कृतिक र सहभागी व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।

विश्वकर्माले भने, ‘राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय समिति बनेको छ। अहिले पदीय हिसाबले सदस्यहरू समेटेका छौं, नामावली छिट्टै पूरा हुने छ।’ उनले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला तहका पदाधिकारीहरू यसमा रहने बताए। शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि यो अभियानमा जोडिएको उनले जानकारी दिए।

यी समितिहरूलाई आगामी केन्द्रीय कार्यसमिति बैठकले अन्तिम रूप दिने छ। मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिको नेतृत्व र सदस्यहरू पनि चाँडै छानिने विश्वकर्माले स्पष्ट पारे। भेला सम्पन्न गर्न आवश्यक पर्ने व्यवस्थापकीय जिम्मेवारीहरूलाई उनले विस्तृत रूपमा व्याख्या गरे।

राष्ट्रिय भेलाको तयारीका क्रममा समूहले राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, संगठनात्मक प्रस्ताव समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समितिलगायत विभिन्न विषयगत समिति गठन गरेको छ । यसले भेला केवल औपचारिक जमघटमा सीमित नरही आगामी महाधिवेशनका एजेन्डा, पार्टीको संगठनात्मक दिशा तथा नीतिगत बहसलाई केन्द्रमा राख्ने तयारी भएको संकेत गरेको छ ।

विशेषगरी विधान संशोधन मस्यौदा समिति गठनलाई इतर समूहले पार्टीको वर्तमान संरचना, विधान वा निर्वाचन प्रणालीबारे आफ्ना प्रस्ताव अघि सार्ने तयारीका रूपमा पनि हेरिएको छ । यद्यपि, पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा आगामी नेतृत्वका लागि शक्ति परीक्षण गर्ने उद्देश्य रहेको भन्ने कुरा प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन । तर, व्यापक प्रतिनिधित्वसहित समिति गठन, राष्ट्रियस्तरको तयारी र विभिन्न विषयगत समितिको सक्रियताले इतर समूहले महाधिवेशनअघि आफ्नो संगठनात्मक क्षमता र प्रभाव प्रदर्शन गर्न खोजेको सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा छ ।

कांग्रेसको संस्थापन इतर समूहले ४४ औं बीपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते राष्ट्रिय भेलाको घोषणा गरेको थियो । राष्ट्रिय भेलाबाट कांग्रेस विभाजन हुने कतिपयको आशंका छ । तर, कांग्रेसका दुवै समूहमा रहेका नेताहरू पार्टी विभाजन नहुने तर्क गर्दै आएका छन् । चुनदेवी पत्रकार सम्मेलनमा उपस्थित इतर समूहका नेता एनपी साउदले पार्टीका लागि एकता अत्यन्तै जरूरी रहेको बताए । ‘हाम्रो पार्टीका लागि एकता सबैभन्दा जरुरी छ । एकताको अनुभूति हुनुपर्ने ठाउँ भनेको पार्टीको नेतृत्व हो,’ उनले भने, ‘नेतृत्वले उदारतापूर्वक सबैलाई समेट्नुपर्छ भन्ने हामी आग्रह गर्दैआएका छौं ।’

लामो समय वार्ताको प्रतिक्षामा रहेको इतर समूह उक्त प्रयासमा सभापति थापा अनिच्छुक देखिएपछि भेलाको अन्तिम तयारीमा जुटेको नेता मीन विश्वकर्माले बताए।  विशेषगरी जेठ २ गते पन्ध्रौँ महाधिवेशनका लागि संस्थापन पक्षले तयारी थालेपछि इतर समूहले असन्तुष्टि जनाउँदै आएको थियो। क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण, नयाँ वितरणमा इतर समूह सहभागी थिएन।

इतर समूहले चौधौँ र विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति समायोजन, पन्ध्रौँ महाधिवेशन निष्पक्षताका लागि राजनीतिक संयन्त्र, क्रियाशील छानबिन, अनुशासनलगायत सबै समितिमा प्रतिनिधित्वको माग गर्दै आएको थियो।  तर, सभापति थापा इतर समूहको मागमा वार्ता-संवादमा कहिल्यै तदारुक नभएको आरोप इतर समूहले लगाएको छ।

साउन ६ गते बीपी स्मृति दिवसको दिन इतर समूहले प्रज्ञा भवनबाट राष्ट्रिय भेलाको घोषणा गरेपछि थापाले साउन ७ गते शेखरसँग भेट गरेका थिए। त्यसपछि थापाले अन्य कुनै नेतासँग भेट तथा संवादको निम्ति आह्वान नगरेको विश्वकर्माले बताएका छन।

१७ श्रावण २०८३, आईतवार ११:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा