काठमाडौँ, लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति समेत भएको छ भने तराई र भित्री मधेसका खोलाहरूमा आएको बाढीले यातायात र ठाउँ ठाउँका बस्तीहरू जोखिममा पारेका छन्।
कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिकाको बिभिन्न स्थानमा अविरल बर्षापछि आएको बाढीका कारण खोलामा आएको बाढीले झोलुंगे पुल बगाएको छ भने कतिपय घर, होटल र रेस्टुरेन्टसमेत बगेको र कतिपयमा क्षती पुगेको छ। बाढीले पुल बगाउँदा आन्तरिक एबम बाह्य पर्यटकहरुले लामो पैदल यात्रा गर्नुपर्ने भएको छ ।

पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड (लाइफलाइन) मानिएको मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र जमिन भासिने क्रम नरोकिँदा इलाम सदरमुकामसहित माथिल्ला क्षेत्रहरू जिल्लाकै अन्य भूभाग र तराईबाट विच्छेद भई ‘टापु’ सरह बनेका छन्।
यस वर्ष फागुनदेखि नै लगातार वर्षा भइरहेका कारण असारको सुरुवातदेखि नै राजदुवाली पहिरोले उग्र रूप लिएको हो। राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङसहित मेची पहाडका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। केही समयअघि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरी यातायात सञ्चालन गर्न कडा निर्देशन दिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिन सकेको छैन।
वैकल्पिक मार्गका रूपमा हेरिएका मेची करिडोर र तिल्केनी-सिमल गोलाई सडक पनि बाढी र पहिरोका कारण ठप्प छन्। वैकल्पिक सडकहरू एकैसाथ बन्द भएपछि तराईबाट खाद्यान्न, तरकारी, एलपी ग्याँस र औषधि जस्ता अत्यावश्यक सामग्री बोकेर हिँडेका मालवाहक सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्। सडक अवरोधका कारण एम्बुलेन्स समेत आवतजावत गर्न नपाउँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रिफर गरिने बिरामीहरूको ज्यान जोखिममा परेको छ।
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुर्दा ६० वर्षीया महिलाको मृत्यु
जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले भूकम्पपीडितको अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो।
घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ।
दोलखामा पहिरोले च्यापेर ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते
दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप्दा कालिञ्चोक–१ क्याङ्पोल निवासी १९ वर्षीया शर्मिला थामी र उनकी ४ महिनाकी छोरी एलिना थामी पहिरोमा परेका थिए।
स्थानीयले तत्काल उद्धार गरी धुलिखेल अस्पताल पुर्याए पनि अस्पताल लैजाने क्रममा बाटोमै शिशु एलिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते आमा शर्मिलाको धुलिखेलमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
मकवानपुरमा कर्रा खोलाको बाढीले ट्रक बगायो, चालक सुरक्षित
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले एक खाली ट्रक बगाएको छ। सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो।
ट्रक बग्दा चितवनको रत्ननगर नगरपालिका-१३ बस्ने ३४ वर्षीय चालक दीपक थिङ पनि सँगै बगेका थिए। उनले पौडिएर आफैँ बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको छ। उनको हेटौँडा–चौघडास्थित राजु मेडिकलमा उपचार भइरहेको छ। प्रहरी टोलीले घटनास्थलमा पुगी खोलामा रहेको ट्रक निकाल्न पहल गरिरहेको छ।अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनहरूले नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।















