Play

बाढीका कारण घान्द्रुक आसपासको ठाउँमा क्षती, किम्रुंग खोलाको झोलुंगेपुल बगाउंदा जनजीवन प्रभावित

गुरुकुल खबर


पोखरा, अविरल बर्षापछि आएको बाढीका कारण कास्कीको पर्यटकीय गाउँ घान्द्रुक आसपासको क्षेत्रमा क्षती पुगेको छ जसका कारण घान्द्रुक पुग्ने सडक र त्यस क्षेत्रमा ब्यबसाय गर्ने  अन्नपूर्ण गाउँपालिका–११ किम्रुङखोलामा रहेको झोलुंगे पुल बगाउनुको साथै अन्य स्थानमा पनि क्षती पुगेको छ  आइतबार बिहान १० बजेदेखिको मुुसलधारे बर्षापछि कारण बाढी आएको र अपरान्ह तिन बजेतिर खोलाको पुल बगाएको थियो।

उक्त पुल बगेपछि खोलाको पारि पट्टि गोठ राखेर बस्तुभाउ पाल्नेहरूले समस्या भोग्नुपरेको छ किम्रोङ गाउँका तिन परिवारको गोठ पारिपट्टी रहेपनि त्यस गाउँका सबैजसो गाउँलेको दाउराघाँस गर्ने ठाउँ नै त्यहि पुल तरेर जानुपर्थ्यो । झोलुंगे पुल बगाएपछि गाउँलेहरु धेरै टाढाबाट घन्टौं लगाएर खोला पार गर्नुपर्ने अबस्थामा पुगेका छन । ‘वारि बस्तीमा गाउँलेहरु र पारी गोठमा वस्तुभाउ रहेकोले समस्या परेको स्थानीय सुनील गुरुङले गुरुकुल खबरलाई सुनाए । उनले भने, ‘पहिले यहाँबाट पारि जान १० मिनेटको बाटो थियो । अब कि झिनुबाट जानुपर्छ कि अर्को बाटो घुमेर जाँदा ३ देखि ४ घण्टा लाग्छ ।’

‘बिहान १० तिरबाट ठूलो पानी पर्न सुरु भयो । किम्रोङखोला खहरे खोला न हो । पानी परेपछि बौलाएर आउँछ,’ उनले भने, ‘२ भुल्को आउँदा पुल भत्कायो/बगायो । बगाए पनि पुलको सामान त देखिएको थियो । अर्को २ भुल्को बाढी आएपछि लठ्ठा, स्ल्यापहरु त कता लग्यो लग्यो ।’ बाढी आउँदा मानवीय क्षति नभएपनि जनजीवन प्रभावित बनेको गुरुङले बताए । ‘दिउँसो भएकाले सजग भएर बस्न पनि पाइयो जसले गर्दा मानवीय क्षति त भएको छैन् तर, घाँस दाउरा गर्नेहरुलाई समस्या भएको छ ।’

उनका अनुसार त्यस क्षेत्रमा कम्तिमा ५ वटा होटल रेस्टुरेन्ट र २० घर परिवार बसोबास गर्दै आएका छन । सोही ठाउँको झोलुंगेपुल हुँदै आन्तरिक एबम बाह्य पर्यटकहरु अन्नपूर्ण आधार शिबिर तर्फ जाने भएकाले त्यस तर्फ जाने पर्यटकहरुले समेत समस्या भोग्नुपर्ने भएको छ घान्द्रुकका अमृत गुरुङका अनुसार एक रात घान्द्रुक बसेर किम्रुङखोला हुँदै एबिसी जान्छु भन्नेहरुका लागि झोलुंगेपुल बगेपछि रुट नै बन्द हुनपुग्यो।

किम्रुङखोला मोदी खोलाको सहायक नदी हो । किम्रुङजस्तै अन्य खोलामा पानीको बहाब बढ्दा मोदी खोला बढेको छ । जसले गर्दा मोदी खोला छेउछाउका बस्तीमा बाढीले ठूलो प्रभाव पारेको छ । माथिल्लो भेगबाट पहिरोसँगै ढुंगामाटो, रुखबिरुवा र बुट्यानसहितको ठूलो भेल एकैपटक तल झर्दा मोदी खोला अत्याधिक बढेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताए । जसले मोदी खोला किनारका बस्तीमा प्रभाव पारेको छ ।

अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने स्याउलीबजार क्षेत्रमा बाढीको असर बढी परेको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले जानकारी दिए । ‘स्याउलीबजार क्षेत्रमा घान्द्रुक जाने पीच बाटो नै सबै बगाएको छ । त्यहाँ मान्छे छिर्ने ठाउँ पनि छैन्,’ उनले भने, ‘त्यहाँको दुईवटा घर पुरै बगाएको छ । अर्को घरमा पनि क्षति पुगेको छ । बर्षा रोकिएन भने अझ बढि क्षती हुने संभावना छ ।’ विरेठाँटी बजारमा पनि आधा जति बाटो बगाएकाले रातभरमा के हुने हो भन्ने शंका रहेको उनले बताए ।

घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ७ देखि ११ का वडाध्यक्षहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनमा जुटेको थियो । सोही क्रममा घान्द्रुक जानका लागि वैकल्पिक बाटो प्रयोग गर्न सकिने पालिका अध्यक्ष केसीले जानकारी दिए । पानी रोकिने सम्भावना कम भएका कारण मानवीय क्षति कम गर्न वस्ती सार्ने देखि सतर्कता अपनाउने कार्य गरिरहेको उनले बताए ।

‘घान्द्रुक जानका लागि स्याउलीबजार पुग्नु अघि तमु भन्ने ठाउँबाट घान्द्रुक जाने कच्ची बाटो छ । त्यसलाई प्रयोग गरेर यातायात सुचारु गर्छौं,’ उनले भने, ‘क्षति कम गर्नका लागि हामीले सतर्कता अपनाउन आग्रह गरेका छौं । अब किम्रुङ खोलाको पुलका लागि हाम्रो क्षमताले भ्याउने जस्तो देखिदैन् । पालिका, प्रदेश र संघीय सरकारको विपद् व्यवस्थान समितिको बैठक बसेर यसलाई अघि बढाउनुपर्ने अवस्था देख्छु ।’

यसअघि सोमबार राती पहिरो जाँदा अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकस्थित वनठाँटी क्षेत्रमा दुई होटल, एक पक्की पुल तथा पदमार्गमा क्षति पुर्याएको थियो । घान्द्रुकका राजनीतिक व्यक्तित्व एबम स्थानीय ब्यबसायी ललित गुरुङका अनुसार अविरल वर्षापछि माथिबाट आएको पहिरोसँगै बाढी, हिलो, माटो, काठका मुढा र दाउरा बगेर आउँदा होटल सनराइज, होटल शंकर तथा पदमार्गको पक्की पुलमा ठूलो क्षति पुगेको थियो । पहिरोले घान्द्रुक–दोबाटो हुँदै मुल्डे भ्यु पार्क, खोप्रा पदमार्ग, हिडन लेक पदमार्ग तथा पुनहिलबाट अन्नपूर्ण आधार शिविर जाने प्रमुख पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

२९ असार २०८३, सोमबार ०९:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा