पोखरा, एसओएस बालग्राम गण्डकी अन्तर्गतको एसओएस हर्मन माइनर बिधालय गण्डकीमा वार्षिक पुरस्कार वितरण समारोह – २०८३ सम्पन्न भएको छ। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले उद्घाटन गरेको उक्त समारोहमा विद्यालयको नर्सरीदेखि कक्षा ९ सम्मका विभिन्न विधामा उत्कृष्ट भएका बिधार्थीहरुलाई प्रमुख अतिथि कार्की सहित अन्य अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा विधालयका पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाट कृषिका बिकलाई नगद रु पांच हजारबाट पुरस्कृत गरिएको उक्त समारोहमा संस्थापक एवं पूर्व शिक्षिका जया बरालद्वारा स्थापित ‘नगेन्द्र कुमारी-नारायण स्मृति प्रतिभा पुरस्कार’ बाट सुश्री रोजमेरी खड्की र सावसाङ थापालाई नगद रु २५ हजार र प्रमाणप्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मन्त्री भीमबहादुर कार्कीले बिधार्थीहरुलाई पुरस्कार वितरण गर्दै शिक्षा क्षेत्रको विकासले नै समृद्ध प्रदेश निर्माण सम्भव हुने बताए । प्रदेश सरकारले लक्षित समूहका विद्यार्थीहरूलाई छात्रवृत्ति अनुदान दिने गरेकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको बताउंदै मन्त्री कार्कीले भविष्यमा आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एसओएस बालग्राम गण्डकीका योजना निर्देशक एवं बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रदिपभक्त आचार्य र वडा नं १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले विद्यालयको शैक्षिक गुणस्तर र अनुशासनको प्रएबम अतिरिक्त क्रियाकलापको बारेमा प्रशंसा गरे।
विद्यालयका प्राचार्य चूडामणि सुवेदीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा सह-प्राचार्य प्रभाष पौडेलले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन उद्घोषकद्वय तिलक प्रसाद काफ्ले र बिमला श्रेष्ठ प्रधानले गरेका थिए । त्यस अवसरमा बिधार्थीहरुले राष्ट्रियगानका साथै विद्यार्थीहरूले विभिन्न लोकनृत्यहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य एवं बिधालय ब्यबस्थापन समितिका सदस्य मन्दिरा परियार, अर्का सदस्य रेखादेवी राना, सह-प्राचार्य विरसिंह बुढा, चन्दादाता शारदा पराजुली, पूर्वविद्यार्थी तथा अभिभावक डा. रबिमोहन ढकाल र कर्मचारी युनियनका अध्यक्ष मिलन खत्री लगायत सहभागी रहेको विधालयका प्राचार्य सुबेदीले गुरुकुल खबरलाई जानकारी दिएका छन।
















