पोखरा, पोखरा महानगरपालिका – १ सिमपानीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। तानचोककोट नौजे पंगिलामा परिवारको स्थापना दिवसको अवसरमा आयोजना गरिएको शिविरमा १ सय ४१ जनाको आँखा परिक्षण गरिएको थियो।
शिविरमा दक्ष चिकित्सक तथा प्राविधिक जनशक्तिद्वारा आधुनिक उपकरणका माध्यमबाट आँखा जाँच गरिनुका साथै बिरामीहरूलाई आवश्यकता अनुसार नि:शुल्क चस्मा र औषधि समेत वितरण गरिएको थियो।
आयोजक संस्थाका करिब १०० जना सदस्यहरूलाई लक्षितगरेर आँखा शिबिर गरिएको भएपनि स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता बढेपछि संस्थाका सदस्य, ज्येष्ठ नागरिक तथा स्थानीय गरी कुल १ सय ४१ जनाको आँखाको निशुल्क परीक्षण गरिएको शिबिर कार्यक्रमका संयोजक राजबहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए।
हिमालय आँखा अस्पताल, घारीपाटनको प्राविधिक सहयोग तथा पोखरा फाइनान्स लिमिटेडको आर्थिक सहयोगमा तानचोककोट नौजे पंगिलामा परिवारले शिविर सञ्चालन गरेको हो।
तानचोककोट नौजे पंगिलामा परिवारका संस्थापक अध्यक्ष क्याप्टेन धरमसिंह गुरुङले शिविरको शुभारम्भ गरेका थिए भने परिवारका अध्यक्ष राजु गुरुंगको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
शुभारम्भ समारोहमा बोल्दै हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुवास नेपालले आँखा निकै संवेदनशील अंग भएकोले आँखामा सामान्य समस्या आएपछि नै आँखा जांच गर्नुपर्नेमा जोड दिए।
शिविर सम्पन्न गर्नका लागि संस्थाका सदस्यहरूबाट स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग प्राप्त भएको संस्थाका कोषाध्यक्ष विनोद गुरुङले जानकारी दिए। विभिन्न क्षेत्रबाट आएका अतिथिहरू, संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव शान्तिकुमारी गुरुङले गरेकी थिइन्।
















