पोखरा, एलायन्स क्लब इन्टरनेसनल १०५५ नेपालको आयोजनामा दुई दिने डिस्ट्रिक्ट अफिसर पदस्थापन तथा स्कुलिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ। उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन, नेतृत्व विकास र कार्यकुशलता अभिवृद्धिका लागि विविध प्रशिक्षण सत्रहरू सञ्चालन गरिएका थिए।
कार्यक्रमको पहिलो दिन नेसनल इन्स्टिच्युट फर लिडरसिप डेभलपमेन्ट प्रालिका सिइओ विकलप्रसाद शेरचनले नेतृत्व विकास र सामाजिक सेवाको महत्त्वबारेमा चर्चा गरेका थिए। एलायन्स क्लब इन्टरनेसनल १०५५ का डिस्ट्रिक्ट गभर्नर थिरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेतृत्व विकासका साथै सामाजिक सेवामा खटिने क्लबका सदस्यहरूका लागि जीवनरक्षक सिपको आवश्यकतालाई मध्यनजर गर्दै ‘बेसिक लाइफ सपोर्ट’ तालिमको समेत आयोजना गरिएको थियो। मणिपाल शिक्षण अस्पताल पोखराको सहकार्यमा ४० जना एलायन्स क्लबका सदस्यहरूलाई उक्त तालिम प्रदान गरिएको हो।
कार्यक्रममा इन्टरनेसनल पिआरओ एजेन्ट मधुसुदन बोज्जा, इन्टरनेसनल एडमिन सेक्रेटरी विद्यासागर अडिरेड्डी, डिस्ट्रिक्ट गभर्नर थिरबहादुर थापा र डिस्ट्रिक्ट आईटी चेयरपर्सन ई. ईश्वरराज चालिसेले संस्थागत पद्धति, काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए।
पदस्थापन कार्यक्रम अन्तर्गत विभिन्न डिस्ट्रिक्ट अफिसर तथा क्लबका अध्यक्षहरूलाई पदभार ग्रहण गराइएको थियो। साथै, सामाजिक सेवामा सक्रिय रहेका एलायन्स क्लब अफ पोखरा बेगनास, एलायन्स क्लब अफ पोखरा पारामाउन्ट र एलायन्स क्लब अफ पोखरा सिस्टर्सलाई विशेष सम्मान गरिएको थियो।
सोही अवसरमा विभिन्न क्लबहरूलाई ‘डिस्टिक्ट बिल्डिङ’ र ‘सपोर्टिङ’ अवार्डबाट पुरस्कृत गरियो। कार्यक्रममा वेदहरि तिमल्सिनाले दुई दिनसम्म चलेको कार्यक्रमको महत्वबारेमा चर्चा गरेका थिए भने डा. लक्ष्मण तिमिल्सिना, ताराप्रसाद पोख्रेल लगायतले आआफ्नो भनाई राखेका थिए।
















