पोखरा, निजि क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी सम्हालेका पोखराका उधमी अञ्जन श्रेष्ठलाई आइतबार गृहनगर पोखरामा स्वागत तथा बधाई ज्ञापन गरिएको छ । नेउबामहासंघको इतिहासमा पोखराले दोस्रोपटक नेतृत्व पाएको भन्दै पोखरेली उधोगी व्यवसायीले खुसि ब्यक्त गर्दै उनलाई बधाई ज्ञापन गरेका छन । श्रेष्ठ पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन् । उनी महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै हालै सम्पन्न ६० औं वार्षिक साधारण सभापछि अध्यक्षको जिम्मेवारीमा पुगेका हुन ।
महासंघका अध्यक्ष श्रेष्ठ पोखरा आएको अवसर पारेर पोखरा उधोग बाणिज्य संघ र लेखनाथ उधोग बाणिज्य संघले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर उनलाई बधाई ज्ञापन गरेका छन पोखरा उधोग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संशयको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा आफू मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता जनाए ।
उनले बजेटमा युवामैत्री नीति आउनु राम्रो पक्ष भए पनि व्यवसायीमाथि भइरहेको धरपकड प्रति भने चिन्ता व्यक्त गरे । ‘राज्यले पहिला व्यवसायीको कुरा सुन्ने अनि मात्र थुन्ने प्रक्रिया अपनाउनुपर्छ,’ उनले भने । उनले सम्पत्ति शुद्धीकरणको नाममा उद्योगीमाथि भएको कडाइले व्यावसायिक वातावरण बिग्रन सक्ने चेतावानी उनले दिए ।
यसैगरी लेखनाथ उधोग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले ल्याएको बजेटप्रति निजी क्षेत्र सकारात्मक रहेको र बजेटले विभिन्न महत्त्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । ‘बजेटले उत्पादन, लगानीका पूर्वाधार र कृषिमा आधुनिकीकरण सहित सूचना प्रविधि, स्टार्टअप र निर्यात व्यवसायलाई प्राथमिकतामा पारेको छ ।’ उनले भने ।

अध्यक्ष श्रेष्ठले आफ्नो तिन वर्षे कार्यकालमा निजी क्षेत्रको मनोबल बढाउने, लगानी आकर्षित गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने काममा अवसर र चुनौती दुवै रहेको उनको भनाइ थियो । ‘६ स्तम्भ र ६० वटा पहलहरुलाई सोही अनुसार कार्यान्वयन गर्ने रिपोर्ट कार्ड तयार पार्ने योजना छ,’ श्रेष्ठले भने ।
उनले नेपालको दीर्घकालीन आर्थिक विकासका लागि स्वदेशी लगानीकर्ता उत्साहित हुन जरुरी रहेको र स्वदेशी लगानीकर्ता उत्साहित नभएसम्म विदेशी लगानी पनि आकर्षित हुन नसक्ने भन्दै सरकारको तर्फबाट व्यवसाय गर्ने सहज वातावरण सिर्जना गर्नका लागि बारम्बार अनुरोध गरिएको स्पष्ट पारे । ‘लगानीकर्ताको आत्मविश्वास नभएसम्म उद्योग विस्तार हुँदैन,’ उनले भने । उद्योग विस्तार नभएसम्म रोजगारी सिर्जना हुँदैन र रोजगारी विना समृद्धि सम्भव छैन उनको भनाई थियो ।
पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेउबामहसंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको सरकारले ल्याएको बजेट र नीतिप्रति प्रश्न उठाए । उनले समाजवाद उन्मुख अर्थतन्त्रले मात्र लगानी भित्र्याउन नसक्ने दाबी गरे । राज्य र प्रशासन निजी क्षेत्रप्रति निर्मम हुन नहुने उनको भनाई थियो ।
त्यस अवसरमा पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले महासंघको नेतृत्वमा पोखरेली पुग्नु गौरवको विषय भएको बताए । उनले व्यवसायीको मनोबल उकास्न नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे। उक्त कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र उपाध्यक्ष कृष्णप्रसाद शर्मालाई पनि बधाई ज्ञापन गरिएको थियो ।
यस्तै, नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इन्जिनियर सरोज कायस्थसहितको नयाँ कार्यसमितिलाई पनि संघले बधाई दिएको छ । कायस्थले प्रदेश सरकारले घोषणा गरेको आइटी पार्कलाई वास्तविक रूप दिन आफ्नो टोली सक्रिय रहने बताए। संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गरेकी थिइन् ।
यसैगरी लेखनाथ उधोग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले अहिलेको आवश्यकता भनेको युवाको नेतृत्व बिकास र उद्यमशीलताको विकास रहेको बताइन् । मुलुकको आर्थिक वृद्धिदरमा सुधार ल्याउन, स्वदेशमै रोजगारीका माध्यमबाट उत्पादकत्व बढाउने तर्फ सबै लाग्नुपर्ने उनको सुझाब थियो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझाले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।
















