Play

कास्कीमा अलपत्र अबस्थामा रहेका १४ सडकलाई बजेटमा समेट्न समन्यव समितिको सुझाब

गुरुकुल खबर


पोखरा,  जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकार मातहतमा कास्की जिल्ला भित्र सञ्चालनमा रहेका अधुरा बहुवर्षीय सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ समेटेर सम्पन्न गर्न प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिको सोमबार सम्पन्न बैठकले जिल्लाभित्र निर्माण सुरु भएर पनि विभिन्न कारणले अलपत्र अबस्थामा रहेका सडक आयोजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलका अनुसार प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत अघि बढाएका केही सडक आयोजनामा आंशिक निर्माण भए पनि काम पूरा हुन नसक्दा ती आयोजना अधुरै छन् । कास्कीमा १४ वटा बहुवर्षीय सडक आयोजना रहेको उनले जानकारी दिए ।

बैठकले फूर्सेखोला–खाल्से–माछापुच्छ्रे भ्युपोइन्ट सडक, काउँखोला–सिक्लेस सडक, कालाबाङ–भूम्दी–चिसापानी–उल्लेरी सडक र लुम्लेपाले–खेत–टाँडी–भिचुक–घान्द्रुक सडकलाई आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्न सिफारिस गरेको छ । त्यसैगरी राम्दी–मट्टीखान–फेदीखोला सडक, लाहाचोक–सिमीबगर हुँदै जलविद्युत् आयोजना क्षेत्र जोड्ने सडक, सौर्य–भगवतीटार हुँदै मिजुरे सडक, थुम्सीकोट–भाचोक सडक र मादी भगवती हुँदै वारचोक सडकलाई पनि बजेटमा समेट्न आग्रह गरिएको छ । इदीखोला हुँदै वडा कार्यालय जाने सडक, घाचोक हुँदै ताङतिङ सडक, गहते हुँदै रबैडाँडा सडक, घिमिरेथर–आपुखोला–झोर्ले हुँदै कालभञ्याङ सडक तथा बेसी–हडौले–भुसुने हुँदै धम्पुस सडकखण्डलाई समेत प्राथमिकता सूचीमा राखिएको छ ।

बैठकले सुशासनको प्रत्याभूति दिन बहुवर्षीय आयोजना पूरा नगरी नयाँ योजना थप्ने प्रवृत्ति रोक्न पनि सरकारलाई सुझाव दिएको छ । ‘बहुवर्षीय योजनाहरू सम्पन्न नगरी नयाँ योजना स्वीकृत तथा बजेट विनियोजन नगर्न’ प्रदेश सरकारसँग आग्रह गरिएको निर्णयमा उल्लेख छ । बैठकले कास्कीको नवौँ जिल्ला सभा आगामी २९ जेठमा गर्ने निर्णय पनि गरेको छ । जिल्ला समन्वय अधिकारी नवराज बरालले जिल्ला सभाको मिति तय गरिएको जानकारी दिए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

१९ जेष्ठ २०८३, मंगलवार ०८:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा