पोखरा, कास्की जिल्ला शारीरिक सुगठन संघले एक लाख रुपैयाँ नगद पुरस्कार राशीसहित ‘प्रथम मिस्टर कास्की एण्ड वुमेन्स वेलनेस तथा मेन्स फिजिक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । संघका अध्यक्ष लेखबहादुर गुरुङका अनुसार प्रतियोगिता आगामी २०८३ साल भदौ १३ गते पोखरामा आयोजना हुनेछ ।
प्रतियोगिताको तयारीका लागि खेलाडीहरूलाई करिब तीन महिनाको समय आवश्यक पर्ने भएकाले मिति अगावै सार्वजनिक गरिएको उनले बताए । जिल्लाभित्र शारीरिक सुगठन खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा ‘मिस्टर कास्की’ उपाधिसहित पुरुष तथा महिलातर्फ वुमेन्स वेलनेस र मेन्स फिजिक विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा संघका सचिव निज तिवारीले जानकारी दिए ।
त्यस्तै, मेन्स फिजिकतर्फ १७० सेन्टिमिटरभन्दा मुनि र माथिका दुई समूहमा प्रतिस्पर्धा हुनेछ । यस विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुला वुमेन्स वेलनेसतर्फ पनि विजेताहरूलाई सोही रकमको पुरस्कार प्रदान गरिनेछ ।
संघले प्रतियोगिताको तयारीलाई तीव्र बनाउँदै पोखरामा सञ्चालनमा रहेका ६२ भन्दा बढी जिमहरूलाई खेलाडी उत्पादन तथा सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगितामा १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ भने आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
हालै गठन भएको कास्की जिल्ला शारीरिक सुगठन संघलाई सहयोग गर्न आग्रह गर्दै अध्यक्ष गुरुङले यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, ‘यो हाम्रो पहिलो पाइला हो । शारीरिक सुगठन खेलको विकासका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’














